प्रशासनले शुरु गर्‍यो अवैध हतियारमुक्त जिल्ला बनाउने अभियान


सन्तोश पौडेल
खोटाङ, ४ भदौ । जिल्ला प्रशासन कार्यालय खोटाङले अवैध हातहतियार (भरुवा बन्दुक) सङ्कलन अभियान शुरु गरेको छ । वन्यजन्तुको चोरी शिकार तथा जिल्लामा हुन सक्ने आपराधिक क्रिलयाकलाप नियन्त्रण गर्ने उद्देश्यका साथ प्रशासनले अवैध हतियार सङ्कलन अभियान शुरु गरेको हो ।

प्रशासनले शुरु गरेको अभियान अन्तरगत बिहीबार मात्रै ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरीका स्थानीय बासिन्दाको घरबाट १७ थान अवैध भरुवा बन्दुक सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । “अवैध हातहतियार सङ्कलन अभियान जिल्लाका दशवटै स्थानीय तहमा चलाइएको छ”, उहाँले भन्नुभयो, “पहिलो चरण अन्तरगत जलेश्वरीको एउटै गाउँबाट सात थान साबुत र दश थान बेसाबुत अवैध भरुवा बन्दुक सङ्कलन गरिएको छ ।”

प्रशासनले शुरु गरेको अभियानलाई सहयोग गर्न जलेश्वरीका स्थानीय बासिन्दाले आफ्नो घरमा राखेका अवैध भरुवा बन्दुक आफैले प्रशासनमा ल्याएर बुझाएको प्रजिअ शर्माले बताउनुभयो । प्रशासनले शुरु गरेको अभियानमा अवैध हातहतियार बुझाउने नागरिकलाई पुरस्कृत गरिनेसमेत प्रजिअ शर्माले जानकारी दिनुभयो ।

अभियानमा सङ्कलन गरिएका अवैध भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय खोटाङमा सुरक्षित राखिने शुक्रबार प्रशासनमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । प्रशासनद्धारा सङ्कलित भरुवा बन्दुक जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साल, पत्रकार लगायतको उपस्थितिमा सार्वजनिक गरिएको छ ।

प्रशासनले शुरु गरेको अवैध हतियार सङ्कलन अभियानमा स्थानीय तहका जनप्रतिनिधिको समेत साथ हुनुपर्ने वरिष्ठ पत्रकार डम्बरसिं राईले बताउनुभयो । “जिल्लाका कतिपय ठाउँमा प्रहरीकै संलग्नतामा चोरी शिकार हुने गरेको सूचनाहरु आएका छन्”, उहाँले भन्नुभयो, “यसप्रति सम्बन्धित निकायले तत्काल छानविनगरी कडाइका साथ कारवाही गर्नुपर्‍यो । यसमा जनप्रतिनिधिको साथ अनिवार्य चाहिन्छ ।”

 

 

दुई नगरपालिका र आठ गाउँपालिकागरी दश स्थानीय तह रहेको जिल्लाका अधिकांश लेकाली भेगमा अवैध हतियार रहेको सूचनाको आधारमा सङ्कलन अभियान शुरु गरिएको प्रशासनले जनाएको छ । स्थानीय बासिन्दाले प्रशासनमा बुझाएको भरुवा बन्दुक काम नलाग्ने भएपछि बुझाएको देखिएको छ ।

जिल्ला प्रशासनले अवैध हतियार सङ्कलन अभियान शुरु गर्नुअघि प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट अवैध भरुवा बन्दुक र वन्यजन्तुको अङ्गसहित दर्जनबढी स्थानीय बासिन्दालाई पक्राउ गरेको थियो । हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीका ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय द्रोण कार्की, २६ वर्षीय रविन्द्र कार्की र ७४ वर्षीय कृष्ण विश्वकर्मालाई भरुवा बन्दुक, वन्यजन्तुको अङ्ग र भरुवा बन्दुकमा प्रयोग हुने विष्फोटक पदार्थसहित गत जेठ-१ गते उनीहरुको घरबाटै पक्राउ गरेको थियो ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाका वडा सदस्य पर्शुराम बानियाँसहित तीन जनालाई गत साउन-११ गते भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको थियो । घरमा अबैध रुपमा भरुवा बन्दुकसहित खरखजना लुकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ परेका वडा सदस्य बानियाँसहित तीन जनालाई जिल्ला अदालतले धरौटीमा छाडेको छ ।

पछिल्लो समय जिल्लामा भरुवा बन्दुक प्रयोगगरी चोरी शिकार गर्ने व्यक्तिको सङ्ख्या दिनानुदिन बढ्दै गएको स्रोतले जनाएको छ । प्रयाप्त वन्यजन्तु पाइने यस जिल्लामा अधिकांश स्थानीय बासिन्दाले मनोरन्जनका लागि मृग, थार, घोरल, खरायो, कालिज लगायतको शिकार गर्ने गरेको स्रोतको दाबी छ ।

जिल्लाका अधिकांश लेकाली क्षेत्रमा पर्ने जङ्गलमा शिकारीहरु बास बस्दै शिकार गर्ने गरेको स्रोतले जनाएको छ । अवैधरुपमा चोरी शिकार गर्नेक्रम बढेपछि जिल्लामा लोपोन्मुख जीवजन्तु भने सङ्कटमा पर्दै गएको छ ।

तपाईको प्रतिक्रिया