धर्मनिरपेक्षता कागजमा लेखेरमात्र हुन्न : निमा शेर्पा

Halesi Khabar
0 Shares

खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ जन्म थलो भई हाल जापानमा प्रवासी जीवन बिताई रहनु भएका निमा शेर्पाले आफ्नो मातृभुमी नेपाल फर्कन चाहेको भएपनि फर्कन नपाएको गुनासो गरेका छन् । उनको सपरिवार बौधमार्गी भएपनि उनले क्रिश्चियन धर्म मान्नु नै अभिशाप भएको बताएका छन् । नेपाल शेर्पा संघका निवर्तमान  केन्द्रिय उपाध्याक्ष समेत रहेका उनी क्रिश्चियन शेर्पा संघ नेपालका वर्तमान अध्यक्ष समेत हुन् । उनै निमा शेर्पासँग हलेसी खबर डटकमले गरेको छोटो कुराकानी :

अहिले के गर्दै हुनुहुन्छ
अहिले त खास केही छैन । जापानमा प्रवासी जीवन बिताई रहेको छु । जापानको ठाउँमा खालि बस्ने कुरै आउँदैन । दिन कटाई रहेको छु ।

तँपाई जापान जानु भएको कति भयो ?
म २ बर्ष अगाडि जापान आएको हुँ । म लगायत मेरो सबै परिवार नै अहिले हामी जापानमा बसिरहेका छौँ ।
तँपाई त नेपालमै बसेर व्यवसाय तथा समाज सेवा गरिरहेको मान्छे खास किन विदेशतिर जानु प¥यो ?
कुरा लामो छ । म नेपालमा बस्दा सानो तिनो व्यवसाय संचालन गर्दै आएको थिएँ । म शेर्पा समुदायको मान्छे । मेरो सबै परिवार तथा समुदायले बौध धर्म मान्नु हुन्छ । तर मैले पछिल्लो समय प्रभु यशुमा विस्वास गरेँ । अर्थात क्रिश्चियन भएँ । त्यसपछि केही समय समाज सेवाको कामहरु अगाडि बढाएँ । तर केही धार्मिक अतिवादीहरुले मलाई दुखदिने काम गरे । व्यक्तिगत हिसाबले मलाई दबावहरु आउन थाल्यो र पनि मैले अंगिकार गरेको क्रिश्चियन धर्मको बारेमा मैले केही न केही गर्न पर्छ भनेर केही साथीहरुसँग मिलेर क्रिश्चियन शेर्पा संघ नेपालको स्थापना ग¥यौँ । त्यसपछि मलाई चारैतिरबाट थ्रेट आउन थाल्यो । जीउ ज्यानको धम्किहरु आउन थालेपछि म बाध्य भएर जापान छिरेको हुँ ।

समस्या कहाँबाट शुरु भयो त ?
समस्या जब म नेपालमा क्रिश्चियन धर्मसँग सम्बन्धित सँस्था गठन गरेर समाज सेवाको कामहरु गर्न थाँले त्यहिबाट शुरु भएको हो । पहिला मलाई फोनहरुबाट धम्कीहरु आउन थाल्यो । मैले साधरण निर्माण व्यवसाय संचालन गर्थेँ त्यस्मा चन्दा माग्ने, धम्किका फोन तथा म्यासेजहरु पठाउने गरियो । पटक पटकको चन्दा आतंकका कारण व्यवसाय संचालन गर्नै नसकिने भयो । राजवादी तथा हिन्दु अतिवादीहरुले हदै सम्म खेदो गर्न थालेपछि म विदेशीनुको कुनै विकल्पा रहेन । यसैले अर्काको देशमा बस्नु बाध्य भएको छु ।

अनि नेपालमा त अहिले धर्म निरपेक्षता लागु भईसकेको अवस्था छ त ?
मलाईपनि यो विषय थाहा छ । तर यो कागजमा लेखेरमात्र नहुँदो रहेछ । मान्छेको बोलि र व्यवहारमा त्यस्तो पटक्कै भएन । अहिलेपनि नेपालमा हिन्दु र बौधधर्मको दबदवा बढी नै रहेको छ । यसले नतिजा त राम्रो ल्याउँदैन थाहा छ । तर यहाँका धर्मभिरुहरुसँग सहिष्णुता नै पलाएको छैन भन्ने मलाई लाग्छ ।

अनि २ बर्ष अगाडिकै अवस्था अहिलेपनि छ जस्तो लाग्छ तँपाईलाई ?
विल्कुल त्यहिछ । अहिलेपनि मलाई त्यस्तै किसिमका धम्किहरु आईरहेका छन् । उनिहरुले नेपाल कहिले आउँछस ? आएपछि देखा जायगा भन्ने किसिमले खबरहरु म्यासेजमा पठाउने अज्ञात नाम तथा नम्बरबाट एसएमएस पठाउने फोन गरेर जिउ ज्यान लिने किसिमका धम्की दिईरहेका कारण समस्या ज्युँ त्युँ नै रहेको छ ।

भनेपछि तँपाईलाई नेपाल आउने वातावरण छैन ?
सुरक्षाको प्रत्याभुत भएको भए म नेपाल किन नआउने र ? नेपाल आउँ आउँ लागेको छ नी मेरो समुदाय इष्टमित्र सबै नेपालमै छन् । मैले गर्ने कामहरु सबै आफ्नै ठाउँमा गर्न सक्थे विदेशमा बसेर गुलामी गर्न कसलाई पो मन हुन्छ र ? हैन र ? तर विदेशमा बस्न म बाध्य छु ।

अब के गर्ने योजना छ त ?
अब अझै पनि देशले भनेको धर्मनिरपेक्षताको पुर्ण लागु होस । हामी स्वतन्त्र नागरिक भएकाले हामीलाई धार्मिक स्वतन्त्रता सहित नेपाल मै बस्न पाईयोस भन्ने लागेको छ ।

कुराकानीका लागि समय दिनु भयो तँपाईलाई धन्यवाद !
जापानको व्यस्त समय छ । सबैसँग बोलचाल गर्न पाईएको छैन । यस्तो बेला मेरो सानो दुखलाई तँपाईको लोकप्रिय संचारमाध्यामबाट सबैसामु राख्ने अवसर दिनु भयो यसैमा तँपाईहरु सबैलाई आमेन भन्दै धन्यवाद दिन्छु ।

तपाईको प्रतिक्रिया