कहिले होला खोटाङमा पटकपटक अवरुद्ध हुने विद्युतको समस्या समाधान ?

Halesi Khabar
0 Shares

खोटाङ, २३ भदौ । खोटाङमा केन्द्रीय प्रशारणलाइनको विद्युत विस्तार भएको २२ वर्ष भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वि.सं. २०५७ सालमा हेलिकोप्टरमार्फत दिक्तेल आएर उद्घाटन गर्नुभएको केन्द्रीय प्रशारणलाइनको विद्युत अहिले जिल्लाका दशवटै स्थानीय तहमा विस्तार गरिएको छ ।

शुरुमा ११ केभी क्षमताको विद्युत सञ्चालन गरिएको जिल्लामा छ वर्षअघि वि.सं. २०७३ सालमा ३३ केभी क्षमतामा स्तरोन्नति गरिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सब–स्टेशन रहेको केन्द्रीय प्रशारणलाइनको विद्युतमा अहिले जिल्लाका तीनवटा जलविद्युत आयोजना जोडिएका छन् ।

साप्सुखोला जलविद्युत आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाईड्रोपावरगरी १०.६ मेगावाट जलविद्युत ३३ केभी केन्द्रीय प्रशारणलाइनमा जोडिएको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादन गरिएको साप्सुखोला जलविद्युत आयोजना ६.६ मेगावाट, केपिलासगढी गाउँपालिकाको वडा नं. ६ दिप्सुङ र वडा नं. ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट तीन मेगावाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट एक मेगावाट क्षमताको जलविद्युत बुइपा–जलजले प्रशारणलाइनमा जोडिएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा अहिले तीन मेगावाट क्षमताको विद्युतमात्र खपत भइरहेको नेपाल विद्युत प्राधिकरण खोटाङले जनाएको छ । विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रको तथ्याङ्क शाखाले दिएको जानकारी अनुसार जिल्लामा अहिले २२ हजार २८२ विद्युत उपभोक्ता रहेका छन् ।

जिल्लामा उत्पादित विद्युतमध्ये तीन भागमा एक भाग पनि खपत भएको छैन । तर, जिल्लामा विस्तार गरिएका केन्द्रीय प्रशारणलाइनको विद्युत पटकपटक अवरुद्ध हुँदा विद्युत उपभोक्ता हैरानीमा परेका छन् । यतिसम्म कि, जिल्लामा अलि बढी पानी पर्दा, अलि ठूलो हावा चल्दा र बाढीपहिरो आउनासाथ विद्युत अवरुद्ध हुने गरेको छ ।

एकै दिनमा दर्जनौँ पटक विद्युत आउने र जाने समस्याले जिल्लाका सेवाग्राही मारमा परेका छन् । झ्याप्प आउने र झ्याप्प जाने केन्द्रीय प्रशारणलाइनको विद्युतले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ ।

पटकपटकको विद्युत अवरुद्धबारे नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्रीको नेतृत्वमा गत भदौ–१ गते जिल्लास्थित क्रियाशील पत्रकारहरुले दिक्तेल वितरण केन्द्रका प्रमुख इन्जिनियर विजयराज रेग्मीलाई भेटेर अनियमित विद्युलाई नियमित गराउन ध्यानाकार्षणसमेत गराएका छन् । पटकपटक विद्युत अवरुद्ध हुँदा समाचार सम्प्रेषणमा समस्या भएको भन्दै तत्काल दीर्घकालीनरुपमा समस्या समाधान गर्न प्राधिकरणको ध्यानाकार्षण गराइएको अध्यक्ष दाहालले बताउनुभयो ।

लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जानाले पटकपटक विद्युत अवरुद्ध विद्युत हुने गरेको विद्युत प्राधिकरणले बताउँदै आएको छ । पटकपटक अवरुद्ध हुँदै आएको विद्युत सञ्चालनमा ल्याउन प्राधिकरणले सम्बन्धित क्षेत्रमा प्राविधिक टोली तत्कालै पठाएपनि विभिन्न बहानामा उनीहरु फोन सम्पर्क नहुँने ठाउँ गएर बस्ने गरेका समाचार स्रोतले दाबी गरेको छ ।

दिक्तेल–गाईघाट प्रशारणलाईन लामो दूरी भएकै कारण जिल्लामा विस्तार गरिएका विद्युतमा पटकपटक समस्या आउने गरेको वितरण केन्द्रका प्रमुख रेग्मीले बताउनुभएको छ । “मौषममा खराबी आउनासाथ ठाउँठाउँमा अवरुद्ध हुने गरेको छ ।” उहाँले भन्नुभो, “लामो समयदेखि पटकपटक हुँदै आएको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न लागीपरेका छौँ । तर, लामो दूरी र जङ्गलको बाटो भएका कारण समाधान भएको छैन ।”

जिल्लामा वर्षाद्को समयमा अवरुद्ध भएको विद्युत सञ्चालनमा ल्याउन प्राधिकरणले कतिपय सयमा हप्तादिनसम्म लगाउने गरेका छन् । वर्षाद्को समयमा विद्युत अवरुद्ध नहोस भनेर प्रशारणलाइन वरपर रहेको झाडी फाँड्ने र ठाउँठाउँमा प्राविधिक टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

जङ्गलको बाटो भएर उदयपुरको जलजलेबाट खोटाङको बुइपामा ल्याएर सबस्टेशनमा जोडिएको विद्युत खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विस्तार गरिएको छ । तीन जिल्लामा विस्तार गरिएको ३३ केभी प्रशारणलाइनको विद्युत पटकपटक अवरुद्ध हुने समस्या देखिएपछि खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित बागेढुङ्गामा तीन एमबिए क्षमताको सब–स्टेशनसमेत सञ्चालन गरिएको छ ।

जिल्लाका दुई ठाउँमा सब–स्टेशन हुनुका साथै जिल्लामै उत्पादन गरिएको विद्युत तीन भागभन्दा बढी खेर गएपनि जिल्ला लोडसेडिङमुक्त हुन सकेको छैन । विद्युत विस्तार भएका कतिपय ठाउँमा कम भोल्टेज आउने, भनेको समयमा विद्युत नआउँने, बढी समयसम्म लोडसेडिङ हुने, हावाहुरी तथा पानी पर्दा अवरुद्ध भएको विद्युत लामो समयसम्म मर्मत गर्न नआउँने जस्ता समस्या यथावत रहेको छ ।

जिल्लाका तीनवटा जलविद्युत केन्द्रीय प्रशारणलाइन अवरुद्ध हुनेबित्तिकै उत्पादन बन्द हुने विद्युत प्राधिकरणले जनाएको छ । तीनवटै जलविद्युत आयोजनाले केन्द्रीय प्रशारणलाइन बन्द भएको समयमा समेत जिल्लामा नियमित विद्युत प्रशारण हुने बताएको थियो ।

जिल्लामा उत्पादन गरिएका तीनवटै जलविद्युतमा जेनेरेटर नरहेकाले समस्या भएको प्राधिकरणले जनाएको छ । जिल्लामा उत्पादित विद्युतलाई केन्द्रीय प्रशारणलाइन नभएको समयमा जोड्न प्राधिकरणले नै अनुमति नदिएको माथिल्लो रावाखोला साना जलविद्युत आयोजनाका प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रा.लि.का सञ्चालक मुक्ति तिम्सिनाले बताउनुभएको छ ।

खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विस्तार गरिएको ३३ केभी विद्युत प्रशारणलाइन स्तरोन्नति नरेसम्म अहिले भोग्दै आइएको समस्या रहिरहने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो । “कमजोर संरचनामा थेग्नै नसक्नेगरी ३३ केभी क्षमताको विद्युत प्रशारणलाइन विस्तार गरिएको छ”, उहाँले भन्नुभयो, “जबसम्म स्तरोन्नति गरिँदैन, तबसम्म यही नियति भोग्नुपर्ने देखिन्छ । यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”

पटकपटक अवरुद्ध हुँदै आएको केन्द्रीय प्रशारणलाइनको विद्युत मर्मत गर्नेक्रममा यही भदौ–१९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित डाँडागाउँका ४० वर्षीय ज्यालादारी कर्मचारी नबिन्द्र राईको ज्यान गएको छ । बुइपास्थित छापगाउँमा विद्युत मर्मत गरेर फर्कनेक्रममा भ¥याङले तार छुँदा करेन्ट लागेपछि गम्भीर घाइते भएका राईको बुइपाकै सनराइज अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

मृतक परिवारलाई विद्युत दुर्घटना क्षतिपूर्ती विनियमावली २०६७ बमोजिम अधिकतम क्षतिपूर्ती उपलब्ध गराउने र मृतककी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्ने सहमतिमा आफन्तले शव बुझेका छन् । मृतक नबिन्द्रको श्रीमती र दुई छोरा छन् ।

एघार केभी क्षमताको विद्युत लाइन मर्मत गर्नेक्रममा वि.सं. २०७० चैत–१६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३७ वर्षीय हरिकाजी ढुङ्गानालाई करेन्ट लाग्दा दुवै हात र एउटा खुट्टा गुमाउनुभएको छ । काठमाडौँको बि.एण्ड. बि. अस्पतालमा उपचार गराइएको ढुङ्गानाको डाक्टर सन्त माथेमासहितका चिकित्सकले दुवै हात र एउटा दाहिने खुट्टा काम नलाग्ने भएपछि काटेर फालिदिएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–१० नवलपुरस्थित बर्खेटारमा अवरुद्ध विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेर अपाङ्ग बन्नुभएका हरिकाजीका बुबाआमा दुवै ८५ वर्ष नाँघेका छन् । सम्पत्तिको नाममा केही पाखो बारीमात्र भएको हरिकाजीका घरमा बुबाआमा, श्रीमती, बहिनी, एक छोरी र एक छोरा छन् ।

विद्युत मर्मत गर्नेक्रममा खोटाङमामात्रै आधा दर्जनभन्दा बढी ज्यालादारी प्राविधिक कर्मचारीहरुको ज्यान गइसकेको छ । धेरै प्राविधिक कर्मचारी अङ्गभङ्ग भएर अरुको भरमा जीवन कटाइरहेका छन् ।

केन्द्रीय प्रशारणलाइनको विस्तार भएपनि जिल्लाका धेरै ठाउँमा बसोबास गर्ने स्थानीय बासिन्दाले भने लघुजलविद्युत आयोजनाकै भरमा छन् । सस्तो, भरपर्दो र स्थानीय बासिन्दालाई गाउँमै रोजगारीको बन्दोबस्तसमेत भएपछि लघुजलविद्युतप्रति उनीहरुको आकर्षण कायम रहेको हो ।

तपाईको प्रतिक्रिया