खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको सक्रियतामा तीन स्थानमा २० वेडको क्वारेन्टाइन निर्माण गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संम्भावित जोखिमबाट बच्नका लागि महादेवस्थान र दुर्छिममा क्वारेन्टाइन निर्माण गरिएको हो ।
नगरपालिकाले स्वास्थ्य चौकी दुर्छिममा ४ वेड र स्वास्थ्य चौकी हलेसीमा ५ वेडको क्वारेन्टाइन बनाएको छ । यस्तै,जाम्बला रिसोर्टमा तत्कालको लागि ११ वेडको क्वारेन्टाइन निर्माण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताउनु भयो । मेयर राईले भन्नु भयो, यो तत्कालको लागि हो थप आबश्यक परे यहि रिसोर्टमा ५५ बेडको क्वारेन्टाइन बनाइने छ ।
क्वारेन्टाइन निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरु सहित जाम्बला रिसोर्टनै उपलब्ध गराएकोमा धन्यबाद दिदै मेयर राईले भन्नु भयो, नगरका जनताको शुरक्षाका लागि हामि २४ सै घण्टा खटिरहेका छौ तपाईहरु आ–आफ्नो घरमा बसेर साबधानि अपनाउनु होला । अहिले नगरपालिकाले स्वास्थ्यकर्मी, औषधि, उपचार, खाद्यन्नको जोहो गरेको जनाउदै मेयर राई भन्नुभयो, शंकास्पद कोहि भेटिएमा क्वारेन्टाइनमा लगेर राखिने छ ।
नगरपालिकाले नगर प्रवेश गर्ने नाकाहरु जयरामघाट, रेग्मीटार र हलेसी मन्दिर परिसरमा हेल्थ डेस्क स्थापना गरेर कोरोना भाइरस (कोभिड–१९) संक्रमण लक्षण देखिने १००.०४ डिग्री फरेनहाइट भन्दा माथि ज्वरो भए नभएको, श्वास प्रश्वासमा अत्याधिक समस्या भए नभएको चेकजाँच र विवरण संकलन गरिरहेको छ ।
कोरोना भाइरसबाट बच्न बचाउन सरकारले मंगलबारबाट १८ चैत्रसम्म गरेको लकडाउनलाई पुर्णरुपमा पालना गर्न नगरपालिकाले आम नागरिकलाई आग्रह गरेको छ । अत्यावश्यक काममा वाहेक घरभित्रै बसेर सहयोग गरिदिन नगरपालिकाले भनेको छ । कसैमा शंकास्पद लक्षण देखिएमा स्वास्थ्य संस्थामा जान र हल्लाको पछि नलाग्न समेत आग्रह गरेको छ ।


