खोटाङ, २० साउन ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका १३ वर्षीय सुमन श्रेष्ठ बिहान पाँच बजे माटीकोरे खेलमैदान पुग्छन् । दुई घण्टा फुटबल खेल सम्बन्धी अभ्यास गर्छन् । सात बजेसम्म खेल अभ्यास गरेर कोठा फर्कन्छन् र गृहकार्य सकाएर दश बजे विद्यालय जान्छन् । अभिभावकले अङ्ग्रेजी माध्यमको शिक्षा अध्ययन गराउन गाउँबाट दिक्तेलबजारमा ल्याएर बसाइएका श्रेष्ठको लक्ष्य छ कुशल एवम् व्यवसायिक फुटबल खेलाडी बन्ने । श्रेष्ठ दिक्तेल बोर्डिङ स्कूल दिक्तेलको कक्षा–८ अध्ययनरत विद्यार्थी हुन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका १२ वर्षीय सिजन बस्नेतले पनि भविष्यमा आफू फुटबल खेलाडी बन्ने बताएका छन् । आफन्तको साथमा दिक्तेलबजारमा बस्दै आएका योगेश बिहान पाँच बजे नै माटीकोरे खेलमैदान पुग्छन् र सार्थीहरुसँगै फुटबल खेल सम्बन्धी अभ्यास गरेर कोठा फर्कन्छन् । बस्नेत माउन्ट एभरेष्ट बोर्डिङ स्कूल दिक्तेलको कक्षा–५ अध्ययनरत विद्याथी हुन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित माटीकोरे खेलमैदानमा पाथेकाका १२ वर्षीय ढाकशेर राई, नेर्पाका १३ वर्षीय वुद्ध खत्री, दिक्तेलका १३ वर्षीय अभिषेक मगर लगायत ४१ जना बालक बिहान पाँच बजे नै माटीकोरे खेलमैदान पुगेका हुन्छन् । फुटबल खेल अभ्यासमा सहभागी उनीहरु सबैको उमेर १४ वर्ष नाघेको छैन । वर्षदिन अघिदेखि निरन्तर अभ्यास गरिरहेका उनीहरु सबैको लक्ष्य छ भविष्यमा कुशल र व्यवसायिक फुटबल खेलाडी बन्ने । उनीहरुलाई खोटाङ फुटबल एकेडेमीका स्वयम्सेवक प्रशिक्षक तथा खेलाडीले निःशुल्क अभ्यास गराइरहेका छन् । जिल्लामा दक्ष खेलाडी उत्पादन गर्दै फुटबल खेललाई व्यवसायिक बनाउने उद्देश्यले नौँदेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई तालीम दिने व्यवस्था मिलाइएको एकेडेमीका अध्यक्ष नूरकाजी सैंजूले बताउनुभयो । “बिना तालीम फुटबल खेलाडी उत्पादन हुँदैन”, उहाँले भन्नुभयो, “आगामी दश वर्षभित्र जिल्लामा राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ निःशुल्क तालीमको व्यवस्था गरिएको हो ।” एकेडेमीले उत्पादन गरेको खेलाडीलाई छात्रवृत्तिमा थप अध्ययन तथा तालीमका लागि राजधानी काठमाडौँ पठाउने गरिएको छ । गत वर्ष सात जना खेलाडीलाई कक्षा ११ र १२ अध्ययन तथा तालीमको सम्पूर्ण खर्च सम्बन्धित क्याम्पसले बेहोर्नेगरि काठमाडौँको नयाँ बानेश्वरस्थि प्रिमियर कलेजले लगेको छ । बिगत तीन वर्षदेखि निरन्तर तालीम गराउँदै आएको एकेडेमीबाट गत वर्ष नै एन्फामा सात जना खेलाडी पठाइएको प्रशिक्षक रोशेष श्रेष्ठले बताउनुभयो । “एकेडेमीमा बिना शुल्क तालीम दिने गरिएको छ”, उहाँले भन्नुभयो, “हामीले तालीम दिएको खेलाडीहरु अहिले विभिन्न क्लव तथा ठाउँमा गएर स्थापित भएका छन् ।” यसअघि एकेडेमीमा तालीम लिएका याम्खाका एवन बस्नेत हाल नेपाल पुलिस क्लवबाट १८ वर्षमुनीका खेलाडी समूहमा आवद्ध छन् । जिल्लामा फुटबल खेलको व्यवसायिक विकासमा लागेको एकेडेमी जिल्ला लिगमा दोश्रो भएको थियो । एकेडेमीलाई गोल नेपाल र लिभरपुल फ्यान्स् नेपालले खेल सामग्री उपलब्ध गराउँदै आएको छ । लिभरपुल फ्यान्स् नेपालले गत यस वर्ष ३० जोर जर्सी, ३० वटा फुटबल, ट्रेनिङकोण, दुई थान नेटजाली र गोल नेपाल काठमाडौँले २० जोर जर्सी र दश वटा फुटबल उपलब्ध गराएको अध्यक्ष सैंजूले बताउनुभयो । जिल्लामा फुटबल खेलप्रति बालबालिका आकर्षित भएपनि सम्बन्धित निकायले चासो नदिएको सरोकारवाला पक्षले आरोप लगाएका छन् । दश स्थानीय तह रहेको जिल्लामा जिल्ला खेलकुद विकास समिति क्रियाशील रहेपनि फुटबल खेललाई चासो नदिएको खेलाडीहरुको गुनासो छ । एकेडेमीले विद्यालयस्तरका बालबालिकाकालाई लक्षित गरेर तालीम सञ्चालन गर्दै आएको माटीकोरे खेलमैदान स्तरोन्नति गर्नुपर्ने अवस्थामा पुगेको छ । हाल सरस्वती मावि दिक्तेलको हातहतमा रहेको उक्त खेलमैदानको समग्र विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम शुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले जानकारी दिनुभयो । जिल्लामा लामो समयदेखि फुटबल खेल सञ्चालन हुँदै आएपनि यस वर्षदेखि मात्रै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सदस्यता प्राप्त भएको छ । एन्फाको अस्थायी सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल सङ्घ खोटाङले जिल्लाकै इतिहासमा पहिलो पटक गत असार–३ गतेदेखि जिल्ला लिग फुटबल प्रतियोगिता गरेको थियो । पहिलो पटक आयोजित जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि बाक्सिला फुटबल क्लवले उचालेको थियो । फुटबल सङ्घमा आवद्ध दश टोली सहभागी प्रतियोगितामा खोटाङ फुटबल एकेडेमीलाई ० का बिरुद्ध २ गोल गर्दै बाक्सिलाले उपाधि चुमेको हो ।
फुटबल खेलप्रति बाल आकर्षण बढ्दो, सम्बन्धित निकायको ध्यान पुगेन
Halesi
तपाईको प्रतिक्रिया
- १. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- २. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ३. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ४. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
- ५. अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान
- ६. उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य


