खोटाङ, सरकारले सय वटा गन्तव्यको सूचीमा समाबेस गरेको खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम अन्तीम चरणमा पुगेको छ । बराहपोखरी गाउँपालिका–१ मा पर्ने बराहपोखरीलाई प्रमुख पर्यटकीय गन्तव्य स्थलकारुपमा विकास गर्नका लागि डिपिआर निर्माणको काम थालिएको हो ।
गत बैसाख २६ गतेदेखि काम थालेको शान्ति निकेतन प्रालि सुनसरीले डिपिआरको काम अन्तिम चरणमा पु¥याएको बराहपोखरी गाउँपालिकाकी उपाध्यक्ष गोमादेबी मगरले बताईन् । प्रालिले १९ लाख ६० हजारको खर्चमा गत असार मसान्तभित्रै डिपिआरको काम पूरा गर्नेगरी कामको जिम्मा लिएको थियो ।
आईतबार कोटेश्वर काठ्माण्डौंमा बराह तालको पर्यटन प्रवद्र्धन सम्वन्धी बृहत छलफल कार्यक्रम गरेर गाउँपालिकाले बाराहपोखरीको डिपिआरको हालसम्मको प्रगतीका विषयमा जानकारी गराएको छ । बराहपोखरीको पर्यटकीय सम्भावना पहिचान, विकास र प्रचार–प्रसार गर्दै स्थानीय विकास, आयआर्जन र सुन्दरताका प्रतिककारुपमा उपयोग गर्नका लागि करिब १६ करोडमा आवश्यक संरचना निर्माण सम्पन्न हुनेगरी डिपिआर निर्माणको काम अघि बढाइएको हो ।
प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले बराहपोखरीको डिपिआरमा बढि काल्पनिक झल्किएको भन्दै आलोचना गरेका छन् । ‘डिपिआरमा लागत मूल्या उल्लेख गरिएको छैन । कुन शिर्षकमा कति खर्च लाग्ने निश्चित गरिएको छैन,’ प्रतिनिधिसभा सदस्य भट्टराईले भने, ‘पिडिआरको थ्रिडिमा हरियाली देखाइएको छ । तर, बराहपोखरीमा त्यस्तो हरियाली छैन ।’ प्रदेशसभा सदस्य उषाकला राईले परिणाम दिनेगरी डिपिआर तयार पारेर कार्यान्वयन गर्न सुझाव दिएकी छन् ।
कार्यक्रममा नेकपाका नेता कुमार आचार्य, राजुबिक्रम चाम्लिङ, गोपी खड्का, देवान राई, कांग्रेस नेता भुवन श्रेष्ठ, साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्का, नेकपा खोटेहाङ कमिटिका अध्यक्ष राजन ढकाल, बमप्रसाद दाहाल, खगेन्द्र राई, निश्चल खड्का लगायतले बराहपोखरीको प्राकृतिक स्वरुपमा अशर नपुग्नेगरी डिपिआर कार्यान्वयन गर्न आग्रह गरेका छन् ।


