काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता दक्षिणपूर्वी एसियाका दुई देशको औपचारिक भ्रमण गर्ने हुनुभएको छ । प्रधानमन्त्रीले यही वैशाख २६ देखि जेठ १ गतेसम्म कम्बोडिया र भियतनामको भ्रमण गर्ने निश्चित भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । भियतनाम र कम्बोडियाका प्रधानमन्त्री क्रमश न्वेन सिएन फुक र हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओलीले ती देशको भ्रमण गर्ने कार्यक्रम बनेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार सम्पन्न आठ दिवसीय चीनको राजकीय भ्रमणबारे जानकारी दिन आज परराष्ट्र मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले ‘कुनै समय युद्धबाट जर्जर भएका ती दुवै देश अहिले आर्थिक समृद्धिको मार्गमा द्रुतगतिमा अघि बढेका छन्, उनीहरूको विकासको अनुभव हाम्रानिम्ति उपयोगी हुने ठानेका छौँ’ भने ।
बहुल दुवै देशबाट नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले निकट भविष्यमा सञ्चालन हुने गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै भियतनामी र कम्बोडियाली पर्यटक लुम्बिनीमा घुरफिर गर्न आउन सक्ने बताए ।


