चितवन । चितवनको भरतपुर महानगरपालिकाको आयोजनामा चालू आर्थिक वर्षको दोस्रो चौमासिक मंसिर–फागुनमा भएका कामको सार्वजनिक सुनुवाई आज मंगलपुरमा सम्पन्न भएको छ । सो कार्यक्रममा बोल्दै महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले योजनावद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताइन् ।
प्रमुख दाहालले विकास निर्माणका कामहरूको गुणस्तर र समयमा काम नहुने गरेको सम्बन्धी गुनासाहरू बढी आउनु सकारात्मक रहेको बताउँदै महानगरपालिका यसमा अत्यन्तै संवेदनशील रहेको बताइन् । उनले महानगरपालिकाभित्र अन्य साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा संचालित विकास निर्माणका कामहरूमा गुणस्तर लगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम अगाडि बढाउन निर्देशनसमेत दिइन् । महानगर प्रमुख दाहालले कुनै पनि अनियमितता र ढिलासुस्ती सैह्य नहुनेसमेत बताइन् ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउँदै उनले यसलाई कायम गर्न महानगरवासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनुपर्ने बताइन् । यस चौमासिक प्रगति समीक्षामा नगरबासीको रचनात्मक सुझाव र विकासमा तीब्र चासो रहेको बताउँदै उनले यसलाई मनन् गरेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरिन् ।


