काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको मुख्य गाँठो फुकेको टिप्पणी गरेका छन् । नेकपाको जिल्ला कमिटीका अध्यक्ष र सचिवहरूको घोषणा गर्न राजधानीमा सोमबार भएको कार्यक्रममा प्रचण्डले एकताको मुख्य गाँठो फुक्यो अब अरु सजिलै फुक्ने बताएका हुन् ।
प्रचण्डले भने हामीले फलामे ढोका फोडेका छौँ। गाँठो त्यहीँ परेको थियो । मुख्य गाँठो फुक्यो। अब अरु सजिलै फुक्छ। प्रचण्डले एकता प्रक्रिया सोचेजस्तो तीब्र गतिमा हुन नसकेकोमा पार्टी कार्यकर्ताहरूसँग क्षमा पनि मागे। यो कुरा सजिलो थिएन।अब नेतृत्वले गौरवका साथ तपाईँहरूलाई बधाई पनि दिन्छ र ढिला भएकोमा क्षमा पनि माग्छ।
उनले देशी विदेशी शक्तिहरुको अवरोधका बीच पार्टी एकता भएको भन्दै त्यो नेपाली जनतासँग भएको प्रतिबद्धता र संकल्प अनुसार भएको बताए । उनले पाटी एकता गर्न दबाब दिने सबै कार्यकर्ताहरुलाई धन्यवाद समेत दिएका छन् ।


