बाढीबाट मृत्यु हुनेहरुको संख्या ७६ पुग्यो

Halesi

तेहरान। इरानमा हालै आएको बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या ७६ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् ।गत मार्च १९ यता मुलुकका अरु धेरै भूभागमा खोजी र उद्धारको कार्य जारी नै रहेकाले जनधनको क्षति अझ बढ्न सक्ने बताइएको छ ।

पछिल्लो समय इरानका दक्षिणपश्चिम क्षेत्रका दुई वटा प्रान्त बाढीका कारण सबैभन्दा बढी प्रभावित भएका छन् । बाढीका कारण शुरुमा प्राय सुक्खा भइरहने उत्तरपूर्वी इरानमा जनधनको क्षति भएको थियो । यहाँका गाउँ शहरबाट लाखौं मानिसलाई सुरक्षित स्थानमा सार्नु परेको थियो ।

अधिकारीहरुले इरानको पूर्वी क्षेत्रमा ठूलो वर्षा सहित बाढी आउने पूर्वानुमान गरेका छन् । बाढीले इरानमा घरहरु, सडकहरु, पूर्वाधार र कृषि क्षेत्रमा व्यापक नोक्सानी गरेको छ ।चौध हजार किलोमिटरभन्दा बढी सडक क्षतिग्रस्त भएको छ, यातायात मन्त्री मोहम्मद इस्लामीले संसदमा बताउनुभएको छ । इर्ना समाचार संस्थाका अनुसार मन्त्री इस्लामीले बाढीका कारण सातसय २५ वटा पुल पूर्णरुपमा क्षतिग्रस्त भएको जानकारी दिए ।

इरानी मौसम विज्ञान विभागका प्रमुख साहार ताजबख्सले दशकौंदेखिको सुक्खाका कारण मात्र बाढीले नोक्सान नगरेको स्पष्ट गर्दै जलवायू परिवर्तन र विश्वव्यापी तापमान वृद्धिले पनि समस्या निम्त्याएको बताए ।इस्लामिक मुलुक इरानले छिमेकी मुलुकहरुबाट राहत र सहयोग लिएको थियो । फ्रान्सले गत शनिबार २१० वटा टेन्ट र ११४ वटा पम्प उपलब्ध गराएको छ । एएफपी

तपाईको प्रतिक्रिया