रुपन्देही । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले श्रमिक र रोजगारदाताको तनाव अन्त्यका लागि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको बताउनुभएको छ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय, सामाजिक सुरक्षा कोष र रुपन्देही उद्योग सङ्घद्वारा आज रुपन्देहीको नयाँ मिलमा आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले योजनाले रोजगारदाता र श्रमिकबीच सन्तुलन पैदा गर्ने धारणा राख्नुभयो ।
उद्योगी–व्यवसायीको जोखिम अन्त्य गर्न राज्यले योजना ल्याएकाले योजना कार्यान्वयनमा साथ दिन उहाँले आग्रह गर्नुभयो । “सामाजिक सुरक्षा योजनाले श्रमिकमा काम गर्ने भावना पैदा गर्नेछ”, उहाँले भन्नुभयो, “श्रमिक खुशी भए मात्रै उद्योग–व्यवसाय फस्टाउँछ, त्यसैले सबैलाई सुरक्षा योजनाको दायरमा ल्याउँछौँ ।” रोजगारीका लागि विदेशिने युवालाई रोक्न सुरक्षा योजना महत्वपूर्ण हुने मन्त्री विष्टको विश्वास छ ।
श्रम बजार श्रमिकबीचको जटिलता अन्त्य गर्न समयमै पहल नभए देश जटिलतातिर जान्छ”, उहाँले भन्नुभयो, “श्रमशक्तिको अभावमा बेहोर्नुपर्ने सङ्टकको समाधानका लागि ध्यान दिन जरुरी छ ।”सामाजिक सुरक्षा योजना देशका लागि नौलो विषय भए पनि यसको कार्यान्वयनपछि उद्योगी, व्यवसायी र श्रमिकमा खुशी छाउने मन्त्री विष्टले विश्वास व्यक्त गर्नुभयो ।
उद्योगीका कठिनाइलाई सरकारले सम्बोधन गर्ने विश्वास दिलाउँदै उहाँले उदार बनेर मजदूरको जीवनस्तर उकास्न सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभयो ।उहाँले भन्नुभयो, “मजदूरको पीडाले उद्योगीलाई पनि पीडा हुन्छ, उनीहरुको मुहारमा खुशी छाउँदा उद्योगीको मुहारमा पनि खुशी छाउँछ ।” उहाँले सञ्चार संस्था, अस्पताललगायत सबै संस्थान र प्रतिष्ठानमा सो योजना लागू हुने बताउनुभयो ।


