भोजपुर। बिबिध कार्यक्रमको आयोजना गरि १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस यहाँ भब्य तरिकाले मनाईएको छ। महिला बिकाश समिती, चौकीडाँडाको आयोजनमा आयोजित समारोहमा विभिन्न टोलबाट प्रतिनिधित्व गरेका आमा समूहका नृत्य प्रमुख आकर्षण थिए। ‘नारी हिंसा अन्त गरौं। कुरा हैन, काम गरौं।, मूल मन्त्रमा आधारित रहेर मनाईएको नारी दिवसमा पुरुष तथा महिला दुबैको बराबरी सहभागिता देखिन्थ्यो।
स्थानीय जाल्पा माध्यमिक बिध्यालयको प्रांगणमा आयोजित नारी दिवसका आयोजकले पुरुषहरूको लागि भनेर छुट्टै तातो आलु र युवकहरुको लागि चकलेट दौड जस्ता रोमान्चक खेललाई समाबेश गरेका थिए। बर्षाद्को पर्बाह नगरी आफ्नै ठाउँमा रहेर दर्शकहरु नृत्य हेर्न लालायित थिए भने बिच बिचमा विभिन्न बक्ताका बिचारले उत्प्रेरित बन्दै ताली ठोक्न पनि छाड्दैनथे।
समारोहको प्रमुख अतिथी थिईन् यहि क्षेत्र साल्पासिलिछो गाउँपालिकाकी उपाध्यक्ष धनमाया राई। स्थानिय निकायमा निर्बाचित हुनु पहिले महिला स्वयंसेविका भएर काम गरिसकेको अनुभव भएको हुनाले उनले महिला स्वास्थ्य र सामाजिक कुरितिले नारी बर्गलाई पारेको असरबारेनै आफ्ना भनाईहरु राखीन्। महिला रजस्वला हुँदा परै राख्ने कार्य कुरितिनै हो भन्ने उनको तर्क थियो।
दाइजो जस्तो महिला बिरोधी कुरितिलाई तोड्न पुरुष दाजुभाइको साथ र सहयोगले मात्रै संभब हुने उनको भनाइ थियो। स्थानिय साल्पासिलिछो गाउँपालिकाको वार्ड नं। ३, चौकीडाँडाका वडाध्यक्ष शान्तिबहादुर अधिकारी लगायत अन्य दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा पेशा ब्यवसायीले पनि समारोहमा नारी हक तथा नारी श्रम शक्ति र समानताको बारे आ-आफ्ना धारणा राखेका थिए।
अन्तर आमा समूह लोक नृत्य प्रतियोगिताको प्रथम पुरस्कार सिर्जनशिल आमा समूह, तालखर्कले प्राप्त गर्यो। अन्य खेलमा बिजयी खेलाडीलाई पुरस्कृत गरियो भने महिला बिकाश समितिद्वारा संचालित विभिन्न सिपमूलक तालिममा उत्कृष्ट हुने सहभागीलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो। समारोह शुरु हुनु अघि साल्पासिलिछो गाउँपालिका वार्ड नं-३, चौकीडाँडाका विभिन्न टोलबाट प्लेकार्ड सहित जुलुस समारोह स्थलमा जम्मा भएका थिए।
समारोह समितिकी अध्यक्ष उमादेवी अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो। समितीले बिगत १० बर्षदेखि निरन्तर रुपमा नारी दिवस मनाई आएको छ।


