यौन दुव्र्यवहारको आरोपमा अदालतमा मुद्दा दर्ता

Halesi

खोटाङ, २२ फागुन : एक ६१ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८, चिउरीडाँडाका ५३ वर्षीय जेपी (जयप्रसाद राई) विरुद्ध जिल्ला अदालत दिक्तेलमा मुद्दा दर्ता भएको छ । आरोपितले आफूलाई पटक पटक संवेदनशिल अंगमा समाति अस्वाभाविक, अवाञ्छित र अमर्यादित व्यवहार गरेको भन्दै अदालतमा मुद्दा परेको हो ।

आरोपितले पछिल्लो समय ०७५ फागुन १८ गते राती खाना खाएर भाँडा माझ्दै गरेका अवस्थामा एक्कासी पछाडिबाट आएर तथानाम गालीगलौज गर्दै छातिमा समाएर मुख थुनि हातपात गरेको पीडितले बताईन् । उनले भनिन् –‘घटनापछि हारगुहार गर्दा आरोपितले मलाई नछाडी लडाउन खोज्दा प्रतिकार गरेर कराउँदै भागेपछि, मैले कराएको आवाज मेरा वृद्ध भएको पति र छरछिमेकीले सुनेका थिए तर उनिहरु आउँदा पनि उनले मलाई नछाडी गहुँबारीमा लडाएर संवेदनशील अंग समाति मैले लगाएको चोलो र बर्को समेत च्याती दिए । पछि सबै छिमेकीहरु भेला भएपछि उनि भागेका हुन् ।’ उनले यस घटनाभन्दा अगाडि दुई पटक करणीको आशयले दुव्र्यवहार गरेको पीडितको भनाई छ ।

पीडितले अदालत समक्ष मुलुकी अपराध संहिता २०७४ को दफा २२४ को उपदफा (१) (२) बमोजिम यौन दुव्र्यवहार गरेको हुँदा सोही ऐनको दफा २२४ को उपदफा (३) बमोजिम हदै सम्मको कैद र जरिवाना तथा सोही दफा २२८ बमोजिम क्षतिपूर्तीको माग गरेकी छिन् । घटनाका आरोपित राईको घरमा पीडितको पतिले लामो समयदेखि हलीको रुपमा काम गर्दै आएको र पति वृद्ध अवस्थामा भए पछि छोराले २०५५ सालदेखि वार्षिक १० हजार रुपैयामा काम गर्दै आएकोमा भनेको समयमा काम नगरेको भन्दै आफूमाथि यौन दूव्र्यवहार गरेको पीडितद्धारा दायर गरिएको मुद्दामा उल्लेख छ । अदालतले उक्त मुद्दा उपर कारवाही प्रक्रिया अघि बढेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया