विराटनगर । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले तीन तहका सरकारको सहकार्यबाट महिला अधिकार स्थापित गर्नुपर्ने बताउनुभएको छ ।
सामाजिक विकास मन्त्रालयद्वारा १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ‘महिला हक अधिकारीसम्बन्धी प्रादेशिक महिला सम्मेलन–२०७५’को आज यहाँ आयोजित उद्घाटन समारोहमा उहाँले वर्तमान संविधानले महिलालाई सामाजिक न्याय दिएकाले यसको प्रभावकारी कार्यान्वनको आवश्यक्ता आँैल्याउनुभयो । उहाँले लैङ्गिक हिंसा घरपरिवारबाट हटाउन संस्कार परिवर्तनमा जोड दिनुभयो ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले सम्मेलनबाट प्रदेशभरका महिलाले भोग्नुपरेका समस्या र उनीहरुका हक अधिकारको सम्बन्धमा निचोडमा पुग्न सकिने बताउनुभयो । उहाँले लैङ्गिक निर्माणमा सम्मेलन मार्गदर्शन हुने विचार व्यक्त गर्नुभयो ।
प्रदेश उपसभामुख सरस्वती पोखरेलले मन्त्रिमण्डल गठनमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चिता हुनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति मोरङका अध्यक्ष नरेश पोखरेल र प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोध प्याकुरेल महिला अधिकार प्राप्त हुने क्रम जारी रहेको धारणा व्यक्त गर्नुभयो । सम्मेलनमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गर्भमा छोरीको भ्रुण हत्या रोक्न महानगरपालिकाले छोरी बचाउन अभियान सञ्चालन गरेको जानकारी गराउनुभयो ।
मन्त्रालयका सचिव हरिप्रसाद दाहालले सम्मेलनले लैङ्गिक नीति तयारका लागि आवश्यक सुझाव सङ्कलन गर्न सम्मेलनको आयोजना गरिएको बताउनुभयो । नीति निर्माण तहमा महिला सहभागिता र नेतृत्वको विषयमा छलफल गर्न प्रदेशस्तरीय दुईदिने महिला सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा १३५ स्थानीय तहका उपप्रमुख, प्रदेशसभामा महिला सदस्य र गैरसरकारी संस्थाका विज्ञ, महिला मानव अधिकारकर्मीको सहभागिता रहेको छ । सम्मेलन बुधबारसम्म चल्ने छ ।


