जनकपुरधाम।पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीयता नेपालको वास्तविकता भएको हुँदा अब कुनै पनि हालतमा फिर्ता हुन नसक्ने बताउनुभएको छ । मैथिली विकास कोषको आयोजनामा आजदेखि शुरु भएको जनकपुर साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले अब सङ्घीयता देशको आवश्यकता भइसक्यो भन्नुभयो ।
उहाँले भन्नुभयो, “अब कुनै बहानामा कसैबाट सङ्घीयतालाई खतरामा पार्ने गरी कुनै गतिविधि वा हस्तक्षेप गर्ने प्रयास भए काङ्ग्रेसलाई सह्य हुँदैन ।” सरकारले अहिले विभिन्न बहानामा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने हिसाबले सामाजिक सञ्जालमाथि प्रहार गर्न खोजेको टिप्पणी गर्दै सभापति देउवाले यस्ता कदमले लोकतन्त्रलाई बल नपुग्ने बताउनुभयो ।पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, “मेरो प्रधानमन्त्री कालमा मधेश र मधेशी जनताको भावनाको कदर गर्दै संविधान संशोधनको प्रयास गरेपनि सफल हुन सकेन ।
काङ्ग्रेस अहिले पनि संशोधनका लागि तयार छ ।” उहाँले नेपाली भाषापछि दोस्रो सबैभन्दा बढी बोलिने भाषा मैथिली भएको बताउँदै उहाँले मैथिली भाषा आफैँमा समृद्ध रहेको उल्लेख गर्नुभयो ।जनकपुर पौराणिक कालदेखि नै समृद्ध रहेको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘अहिले जनकपुरदेखि अयोध्यासम्मका लागि धार्मिक पर्यटन विकासका लागि आएको रामायण परिपथको अवधारणा सान्दर्भिक रहेको छ । यसबाट धार्मिक पर्यटनको विकास हुनुका साथै नेपाल–भारत र दुबै देशका जनताको सम्बन्ध प्रगाढ हुनेछ ।’’


