पठनपाठन गराउनुको सट्टा राजनैतिक र व्यक्तिगत गफमा शिक्षक, विद्यार्थीको कमजोरी भए पाईपले यातना दिने गरेको आरोप

Halesi

खोटाङ, १८ फागुन : खोटाङको एक विद्यालयमा शिक्षकहरु पठन पाठन गराउनुको सट्टा एक आपसमा भेला भएर राजनैतिक र व्यक्तिगत गफ गर्ने गरेको गुनासो आएको छ । यहाँको खोटेहाङ गाउँपालिका–८, सिम्पानी स्थित कृष्ण माध्यमिक विद्यालय बर्रेका शिक्षकहरुमाथि पठन पाठन नगराएको आरोप लागेको हो । उक्त विद्यालयका शिक्षकहरु समयमा विद्यालयमा उपस्थित नहुने, उपस्थित भएका शिक्षकहरु पनि एक आपसमा भेला भएर राजनैतिक र व्यक्तिगत विषयमा बहस गर्ने गरेको गुनासो स्थानीय युवा शिखर खतिवडाले गरेका छन् । उनले सिधा कुरा जनतासँग कार्यक्रममा टेलिफोनवार्तामा गुनासो गरेपछि उक्त विषयले यतिबेला निकै चर्चा पाएको छ ।

शिक्षकहरु आफू समयमा नआउने, पठन पाठन नगराउने तथा विद्यार्थीको केही कमजोरी भेटिए पाईपले यातना दिने गरेको भन्दै ति युवाले सामाजिक सञ्जाल मार्फत पनि विद्यालय प्रशासन र स्थानीय जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएको जानकारी व्यक्त गरेका छन् । हाम्रा सम्वाददातासँगको प्रत्यक्ष कुराकानीको क्रममा स्थानीय युवा तथा अभिभावक शिखर खतिवडाले विद्यालयको पटक पटक ध्यानाकर्षण गराए पनि बेवास्ता गर्ने गरिएको बताएका छन् । विद्यालयले आयव्यय सार्वजनिक नगरेको, नियमित वैठक पनि नबस्ने गरेको लगायतका कमजोरी विद्यालयको रहेको उनले बताए ।

यस विषयमा विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार तामाङसँग बुझ्दा केही समयअघि गाउँका केही युवाहरु विद्यालयमा आएको बताए । उनले भने –‘यतिबेला टिचिङ प्राक्टिस चलिरहेकाले शिक्षकहरु केही फुर्सद भएको मात्र हो, नियमित विद्यालय नआउने, पठन पाठन नगराउने भन्ने विषय झुटो हो ।’ उनले थपे –‘हामीले विद्यालय व्यवस्थापन समितिको वैठक आवश्यकता अनुसार बसिरहेका छौं, आयव्ययको विषयमा केही दिनभित्रनै सार्वजनिक गर्ने योजनामा छौं ।’ उक्त विद्यालयमा १२ जना शिक्षक शिक्षिका छन् भने २ सय २५ जना विद्यार्थी अध्ययनरत छन् । By : DM Chamling Rai

तपाईको प्रतिक्रिया