बाक्सिला बजार व्यवस्थापनको लागि प्रदेश सरकारबाट एक करोड बजेट बिनियोजन, चित्राको छाप्रो हटाएर स्टिल ट्रष्ट निर्माण गर्ने तयारी

Halesi

खोटाङ, १८ फागुन : जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र बाक्सिलाबजारलाई व्यवस्थित गर्ने काम शुरु गरिएको छ । लामो समयदेखि चित्राको छाप्रोमा सञ्चालन हुँदै आएको बाक्सिलाबजारको होटल तथा पसललाई आधुनिक रुपमा विकास गर्दै व्यवस्थित गर्न लागिएको हो । केपिलासगढी गाउँपालिका–४ मा पर्ने बाक्सिलाबजार व्यवस्थित गर्न एक नम्बर प्रदेश सरकारबाट रु. एक करोड बजेट बिनियोजन भएको छ । विशेषगरी अर्गानिक कृषि उपज खरिद तथा बिक्री हुने बाक्सिलाबजार व्यवस्थित गर्न प्रदेशसभा सदस्य राजन राईको पहलमा प्रदेश सरकारबाट बजेट बिनियोजन गरिएको हो ।

अहिले २७३ वटा छाप्रे होटल तथा पसल सञ्चालन हुँदै आएको बाक्सिलाबजारमा उक्त छाप्रो हटाएर १७५ वटा स्टिल ट्रष्ट निर्माण गर्ने तयारी गरिएको छ । हरेक बुधबार हटिया लाग्ने बाक्सिलाबजारमा सात फिट लम्बाई र दश फिट चौडाईको आधुनिक स्टिल ट्रष्ट निर्माण गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष सुमन गुरुङले बताए । बाक्सिलाबजारमा निर्माण गर्न लागिएको सबै भौतिक संरचना आगामी असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण उपभोक्ता समितिसँग सम्झौता गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । “बाक्सिलाबजार उत्तरी क्षेत्रमा बसोवास गर्ने स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र हो ।” उनले भने “पछिल्लो समय उपभोक्ता तथा व्यापारीको चाप बढ्दै गएपछि व्यवस्थित गर्न पहल थालिएको छ । यसले गाउँपालिकाको आर्थिक वृद्धिमा समेत सघाउ पुग्नेछ ।”

करीब आठ रोपनी क्षेत्रफल जग्गा ओगटेको बाक्सिलाबजारमा खानेपानीको दुई वटा धारा तथा सुधारिएको वथशाला, महिला तथा पुरुषको लागि छुट्टाछुट्टै चार वटा सार्वजनिक सौचालय, विजुली बत्ती लगायत निर्माण गर्ने तयारी गरिएको छ । बजार क्षेत्रमा उत्पादन हुने फोहर व्यवस्थापन तथा ढल निकासको काम समेत यसै वर्ष गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ । गाउँपालिकाको केन्द्र समेत सोही ठाउँमा स्थापना भएपछि पछिल्लो समय बाक्सिलाबजारमा उपभोक्ता तथा व्यापारीको चाप एक्कासी वृद्धि हुँदै गएको स्थानीयवासी एवम् युवा नेता पवन श्रेष्ठले बताए । पूरानो संरचना मात्रै रहेको ऐतिहासिकस्थल बाक्सिलाबजारमा उपभोक्ता तथा व्यापारीको चाप बढेपछि विशेषगरी खानेपानी तथा सौचालयको अभाव देखिएको छ ।

बाक्सिलाबजारमा अर्गानिक कृषि उपजहरु जस्तै ः मकै, कोदो, दाल तथा चामल, गुन्द्रुक, सागसब्जी, फलफूल, असला माछा, कुखुराको भाले, सुँगुरको पाठा लगायत खरिद तथा बिक्री हुने गरेको छ । घरायसी औजारमा कोक्रो तथा थुम्से, डोको÷नाम्लो, नाङ्लो÷डालो, भकारी, चित्रा लगायत खरिद तथा बिक्री हुने गरेको छ । बाक्सिलाबजारमा पाइने कृषि उपज तथा सामग्री खरिद गर्न खोटाङको अधिकांश स्थानीय तह, छिमेकी जिल्ला भोजपुर, ओखलढुङ्गा तथा सोलुखुम्बुका उपभोक्ता आउने गरेका छन् । बाक्सिलाबजारमा अन्य बजारहरुमा पाइनेभन्दा अर्गानिक र सफत मुल्यमा कृषि उपज तथा घरायसी सामग्री पाइने भएपछि टाढाटाढाका उपभोक्ता समेत बाक्सिलाबजार आउने गरेको स्थानीयवासीले बताएका छन् ।

पर्यटकीयस्थल बाक्सिलाबजारमा गाउँपालिकाको केन्द्र स्थापना भएसँगै सुविधा सम्पन्न होटल तथा पसल समेत धमाधम स्थापना हुन थालेको छ । पर्वतीय पर्यटन हिसाबले राम्रो सम्भावना बोकेको बाक्सिलाबजारमा गाउँपालिकाको कार्यालय स्थापना भएसँगै बैङ्क तथा बित्तीय संस्थाहरु समेत धमाधम खुल्न थालेको छ । बाक्सिलाबजारमा एक दिन मात्र लाग्ने सार्वजनिक हटियामा दिक्तेलबजारबाट सामग्री लगेर व्यवसाय गर्ने व्यापारीको संख्या पनि उतिकै वृद्धि हुँदै गएको बजार व्यवस्थापन समितिले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबाट जाने अधिकांश व्यापारीले लत्ताकपडा तथा खुद्रा सामग्रीको व्यापार गर्दै आएका छन् ।

पछिल्लो समय बाक्सिलाबजार तथा गाउँपालिकाको केन्द्रसम्म सडक निर्माण गरेर यातायात समेत सञ्चालनमा आएपछि आसपासका स्थानीयवासी नगदेबाली लगाउनुका साथै आर्यआर्जनका काममा व्यस्त हुन थालेका छन् । आफूले उत्पादन गरेको कृषि उपज सहजै बिक्री हुने भएपछि उनीहरु नगदेबादीतर्फ आकर्षित भएका हुन् । पर्यटकीय क्षेत्रमा पर्ने बाक्सिलाबजारको बीच भागमा बुद्धको शालिक रहेको छ । हिमाली श्रृङ्खला तथा उच्च पहाडी भूभाग अवलोकन गर्न सकिने बाक्सिलाबजारको स्तरोन्नति हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

तपाईको प्रतिक्रिया