खोटाङ: यहाँको साकेला गाउँपालिकाले पालिकाको समृद्धिका लागि पर्यटनलाई प्राथमिकता दिदै ताल निर्माण अभियान सुरु गरेको छ । गाउँपालिकाको वडा नं ३ खिदीमास्थित तावा भन्ज्याङमा ताल निर्माण गर्नका लागि डिपिआर तयार गरिएको छ । यसका लागि प्रारम्भिक अध्ययन सकिएको छ । उक्त अध्ययन गत आर्थिक वर्षमै गरिएको थियो । गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काका अनुसार प्रदेश नम्बर–१ कै नमुना ताल बनाउने योजनका साथ काम भइरहेको छ । प्रदेश न–१ का मुख्यमन्त्री शेरधन राई सहितको सहभागितामा भएको छलफलपछि ताल निर्माणको थालनी गरिएको अध्यक्ष खड्काले जानकारी दिए।
ताल निर्माणको लागत कति हुन्छ भन्ने डिपिआरपछि मात्र टुङ्गो लाग्ने छ ।’ अध्यक्ष खड्काले भने–‘आगामी आर्थिक वर्षको कार्यक्रम तथा बजेट प्रक्रियामा लैजाने योजना बनेको छ ।’ अध्यक्ष खड्काले–‘प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री राईले आश्वासन दिनु भएको छ ।’ उक्त ताल निर्माण गरिने क्षेत्र करिब नौ सय मिटरको रहेको र पानीको भारवन क्षमताको आधारमा ताल निर्माण गरिने छ । ताल निर्माणपछि आन्तरिक तथा वाह्य पर्यटन प्रबद्र्धन हुने अध्यक्ष खड्काले बताए । ताल निर्माण पछि यस क्षेत्र प्राकृतिक सौन्दर्य तथा विभिन्न वन्यजन्तु समेत अवलोकन गर्न सकिने छ ।
माथिबाट नागवेली आकारमा बगेर आउने पानीलाई तलबाट ड्याम उठाएर ताल निर्माण गर्न लागिएको हो । यसको तल्लो क्षेत्रमा रेन्बोट्राउट पालनको योजना बनाइएको छ । यो ताल निर्माणले तावाखोलाको पानी बढ्ने अध्यक्ष खड्काले सुनाए । यो ताल समुद्री सतहदेखि २२ सय मिटर उचाई पर्छ । ताल निर्माणपछि टेम्के, मैयू लगायतका प्राकृतिक सौन्दर्यताको अवलोकन गर्न यसले मद्दत गर्ने छ । यसका साथै टेम्केमा भ्युटावर समेत निर्माण गरिने समेत गरिने खड्काको भनाई छ । मुन्धुम ट्रेलसंग समेत सम्बन्ध जोड्ने योजना बनाइएकाले यसको भविष्य उज्ज्वल रहेको अध्यक्ष खड्काले बताए । ताल निर्माणपछि आसपासमा पानीको श्रोत बढन्का साथै पर्यावरणमा समेत सघाउ पुग्ने खड्काको भनाई छ । by : DM Chamling Rai


