दिक्तेलबजार व्यवस्थित बन्दै, नमूना नगरपालिका बनाउने तयारी

Halesi

खोटाङ, १७ फागुन : फोहर, जथाभावी पार्किङ, सडक पेटीमा थुपारिएको निर्माण सामग्री लगायतले अस्तव्यस्त देखिने दिक्तेलबजार पछिल्लो समय व्यवस्थित बन्दै गएको छ । सिसी क्यामेरा जडान, फोहर व्यवस्थापनका लागि डस्टविन, पार्किङको व्यवस्था लगायतले दिक्तेलबजार व्यवस्थित बन्दै गएको हो । दिक्तेलबजारको विभिन्न ठाउँमा सिसी क्यामेरा जडान गरेपछि जथाभावी पार्किङ गर्ने, सडकमै निर्माण सामाग्री राख्ने, घरको पेटी तथा सडकमै व्यापारिक सामग्री राख्ने जस्ता क्रियाकलाप स्वस्फुर्त हटेको छ । मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरेपछि सार्वजनिक स्थलमै धुमपान तथा मादक पदार्थ सेवन गर्ने, असभ्य व्यवहार गर्ने, होहल्ला गर्दै हिड्ने लगायतका क्रियाकलाप स्वतः घटेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभयो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लगानीमा बजार क्षेत्रको विभिन्न १२ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । बजार क्षेत्रमा हुने हरेक क्रियाकलाप सिसी क्यामेरामार्फत नगरपालिका र जिल्ला प्रहरी कार्यालयले निगरानी गर्ने व्यवस्था मिलाइएको छ । सिसी क्यामेरा जडानपछि नियम विपरितको कार्य गर्ने जो कोही उम्कने अवस्था नरहेको नगरप्रमुख दिपनारायण रिजालको बताउनुभयो । नगरपालिकाले जडान गरेको सिसी क्यामेराले बजारको सुरक्षामा समेत सघाउ पुगेको प्रहरीले जनाएको छ । सिसी क्यामेरा चौबीसै घण्टा सञ्चालनमा रहने हुनाले दिउसो वा राति जुनसुकै समयमा भएका सबै गतिविधिको फुटेज रेकर्डमा रहने व्यवस्था मिलाइएको छ । सिसी क्यामेरा जडान गर्नुअघि दिक्तेलबजारमा दिनदहाडै अपराधिक क्रियाकलाप भए पनि दोषी पत्ता लगाउन गाह्रो हुने गरेको थियो ।

नगरपालिकालाई स्वच्छ, सफा, सुन्दर र व्यवस्थित बनाउने योजना सहित बजार क्षेत्रको विभिन्न ठाउँमा फोहर संकलन गर्न डस्टविन समेत राखिएको छ । व्यक्तिगत घर, होटल तथा पसलबाट निस्कने फोहर जथाभावी फाल्नाले दुर्गन्धित तथा अस्तव्यस्त देखिने दिक्तेलबजारको विभिन्न ठाउँमा कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै हाल्नेगरी डस्टविन राखिएको हो । दिक्तेलबजारको विभिन्न २५ ठाउँमा राखिएको डस्टविनमा संकलन गरिएको फोहर हरेक हप्ताको दुई पटक ट्याक्टरमा हालेर व्यवस्थापन केन्द्रमा पु¥याउने गरिएको छ । वडा नम्बर–५ लफ्याङस्थित जङ्गलमा बनाइएको व्यवस्थापन केन्द्रमा लगेर राखिने फोहरलाई प्रशोधन गर्ने योजना बनाइएको छ । फोहरलाई मोहरमा परिनत गर्ने उद्देश्य सहित प्रशोधन केन्द्र समेत सञ्चालन गर्ने तयारी गरिएको नगरप्रमुख रिजालले बताउनुभएको छ । “फोहर व्यवस्थापन सम्बन्धी नगरकार्यपालिकाले कार्यविधि नै बनाएर अघाडि बढेको छ ।” उहाँले भन्नुभयो, “नगरभित्र अव्यवस्थित रुपमा रहेको फोहरलाई व्यवस्थापन गर्दै प्रशोधन गरेर नगरपालिकाको आर्थिक वृद्धिमा टेवा पु¥याउने तयारी थालिएको छ ।”

नगरपालिकाबाट निस्कने फोहर व्यवस्थापन केन्द्रसम्म पु¥याउन नगरपालिकाले आफ्नै ट्याक्टर खरिद गरेर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि थुप्रिएको फोहर व्यवस्थापन गर्न नगरपालिकाले कर्मचारी नै नियुक्त गरेर प्रत्येक घरलाई सदस्यता वितरण गरेर कामलाई अगाडि बढाएको छ । नगरपालिकाले डस्टविन राखेपछि स्थानीयवासीले आफ्नो घर तथा पसलबाट निस्किएको फोहर आफैले लगेर डस्टविनमा हाल्ने गरेका छन् । चेतना अभावमा जथाभावी फोहर फाल्दै आएका स्थानीयवासीलाई फोहर व्यवस्थापन सम्बन्धी तालिम तथा सचेतना गोष्ठीमा सहभागी गराएर सजग गराइएको छ ।

गोष्ठीमा सहभागीले नगरपालिकालाई स्वच्छ, सफा र सभ्य नगर बनाउन २३ बुदे प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गरेका छन् । नगरपालिकाले दिक्तेलमा गत पुस १८ गते फोहर व्यवस्थापन सम्बन्धी आयोजना गरेको अन्तरक्रिया गोष्ठीमा सहभागीले नगरप्रमुखको रोहबरमा प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । नगरपालिका र सरोकारवालाले गरेको निर्णयलाई उलङ्घन गर्ने तथा अटेर गर्ने व्यक्तिलाई जनप्रतिनिधि लगायतले उचित कारबाहीको लागि नगरपालिका समक्ष सिफारिस गर्ने जस्ता प्रतिवद्धतापत्रमा उल्लेख छ । प्रतिवद्धतापत्रमा दिक्तेलबजारका विभिन्न छ वटा टोल सुधार समिति, उद्योग वाणिज्य सङ्घ, दिक्तेलबजार सामाजिक गुठी, यातायात व्यवसायी, होटल व्यवसायी, सरोकारवाला लगायतले हस्ताक्षर गरेका छन् ।

परम्परागत घरहरु तथा साँघुरो सडक रहेको दिक्तेलबजारका सडक आसपासमै पार्किङ गरिने यातायातलाई सम्बन्धित बस तथा जीपपार्कमा लाने व्यवस्था मिलाइएको छ । ठूला सवारी साधनलाई सोल्मा तथा आचार्य गाउँमा निर्माण गरिएको बसपार्क तथा सानालाई हाटडाँडामा रहेको जीपपार्कमा राख्न थालिएको छ । जिल्लाको पुरानो तथा प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा रहेको सौचालय सफा गर्ने मेशिन समेत खरिद गरिएको छ । उक्त मेशिन प्रयोग गरेर नगरवासीको सौचालय सफा गरिने जनाइएको छ

तपाईको प्रतिक्रिया