हेटौँडा । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना तथा मकवानपुरका पुराना कम्युनिष्ट नेता मोहन बज्राचार्य (गुरुजु)को निधनप्रति नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मकवानपुरले आज श्रद्धाञ्जलिसभा गरेको छ ।
श्रद्धाञ्जलिसभामा नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले अग्रज नेता बज्राचार्य र नेकपाको केन्द्रीय सदस्य अधिकारीको निधनले अपुरणीय क्षति पुगेको बताउनुभयो । राष्ट्र र जनताले आशा गरेको अध्ययनशील, योजनाकार तथा सक्रिय नेता अधिकारीलाई गुमाउँदा दुःख लागेको भन्दै केन्द्रीय सदस्य न्यौपानेले शोकलाई शक्तिमा बदलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
लामो समयदेखि मकवानपुरको वामपन्थी आन्दोलनमा लाग्नुभएका अग्रज नेता बज्राचार्यको नजिक रहेर काम गर्नुभएका वरिष्ठ पत्रकार कौशल पाण्डेले वामपन्थीलाई बन्देज लगाएको अवस्थामा पनि बज्राचार्यले माक्र्सवादी अध्ययन केन्द्र खोलेर काम गर्नुभएको स्मरण गर्नुभयो । उहाँले अधिकारी जस्तो आँटिलो र इमान्दार नेता राष्ट्रले गुमाउनुपर्दा ठूलो क्षति भएको बताउनुभयो । विसं १९७९ मा जन्मिनुभएका बज्राचार्यको यही फागुन ४ गते ८६ वर्षको उमेरमा निधन भएको थियो ।


