रसुवा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुने बताउनुभएको छ । आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानद्वारा प्रदत अधिकारमाथि सरकारले हस्तक्षेप गर्न लागेकाले यसका विरुद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्दछ ।”
सभापति देउवाले चिकित्सा शिक्षा विधेयकमा सरकारले ठूलो हस्तक्षेप गरेको उल्लेख गर्दै रसुवादेखि शुरु भएको काङ्ग्रेस प्रवेशको अभियानलाई देशव्यापी रुपमा लगिने र अन्य पार्टीबाट काङ्ग्रेस प्रवेश गर्नेलाई उचित स्थान दिने बताउनुभयो ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति सुरक्षा र मुलुकको आर्थिक विकासमा सरकारले काम गर्न नसकेको आरोप लगाउँदै समृद्धिको यात्रा कम्युनिष्टको नेतृत्वमा पूरा हुन सक्दैन भन्नुभयो ।


