आठौँ लाटोकोसेरो तथा हुचिल उत्सव शुरु, पञ्क्षी संरक्षण र अनुसन्धानकर्ता पुरस्कृत

Halesi
0 Shares

खोटाङ, १८ माघ ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा आठौँ लाटोकोसेरो तथा हुचिल उत्सव शुक्रबारदेखि शुरु भएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर प्रकृतिका साथीहरु नामक संस्था र वडा कार्यालयको सहकार्यमा दुई दिने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव शुरु भएको हो ।

प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले ढाकिएको हुचिलको स्तम्भको पर्दा खोलेर उत्सव उद्घाटन गरेका थियो । ‘किसानको साथी’का रुपमा रहेको र प्राकृतिक सन्तुलन कायम गर्नमा भूमिका निर्वाह गरिरहेको लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पु¥याउने उद्देश्यले जालपामा उत्सवको आयोजना गरिएको हो ।
पशुपञ्छी लगायत प्रकृतिको संरक्षणका लागि जनचेतना जगाउन आयोजित लाटोकोसेरो तथा हुचिल उत्सवका कारण जालपामा अवलोकनकर्ता तथा सहभागीको चहलपहल बाक्लिएको छ । लाटोकोसेरो तथा हुचिल उत्सवस्थलमा जिल्ला तथा जिल्ला बाहिरका जनसमुदायको सहभागिता रहेको लाटोकोसेरो तथा हुचिल उत्सव आयोजक मूल समितिका संयोजक एबं वडाध्यक्ष बिकास राईले बताउनुभयो ।

उत्सवको पहिलो दिन चरा अवलोकनका साथै प्रकृतिको तस्वीर खिच्ने, लाटोकोसेरो सम्बन्धी लघु संग्रहालय प्रदर्शनी, प्रकृति तथा वन्यजन्तु संरक्षण सम्बन्धी विभिन्न अनुसन्धानकर्ताको प्रस्तुती, लोपोन्मुख बाजा बिनायो, मुर्चुङ्गा, पीपीरी, बाँसुरी, एलम्बर बाजा, मादल सहितको संयुक्त वाद्यबादन, हाक्पारे गीत, लाखे नाच, रोपाई जात्रा, साकेला सिली लगायत लोक साँस्कृति नाच प्रदर्शनी गरिएको छ । जालपा मावि जालपाको प्राङ्गणमा आयोजना गरिएको उत्सवमा लोपोन्मुख खेल लाथ्रो काट्ने समेत प्रदर्शनी गरिएको थियो ।
शुक्रबार राति लाटोकोसेरोको महत्व दर्शाउने खालका स्लाईड तथा भिडियो प्रदर्शनी गरिने आयोजकले जानकारी दिएको छ । ‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौं’ भन्ने नारासहित शुरु लाटोकोसेरो तथा हुचिल उत्सवको दोस्रो दिन वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीबाट लाटोकोसेरो संरक्षण सम्बन्धी नाच, मारुनी, हिन्दु महिलाको संगिनी नाच, तामाङको डम्फु र सेलो, बालनका साथमा सडक नाटक प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

उत्सवको अन्तिम दिन घिरगाडे र झुलो चकमक खेलको प्रदर्शनी गरिने जनाइएको छ । लाटोकोसेरो सम्बन्धी लघु म्यूजियम प्रदर्शनी, चरा अवलोकनका साथमा प्रकृतिको तस्वीर खिच्ने र प्रकृति तथा वन्यजन्तु संरक्षण सम्बन्धी अनुसन्धानकर्ताको प्रस्तुतीले शनिबार पनि निरन्तरता पाउने लाटोकोसेरो तथा हुचिल उत्सव आयोजकले जनाएको छ ।
उत्सवमा स्थानीय कृषि उपज तथा अन्य सामग्री समेत प्रदर्शनीमा राखिएको छ । समापनको अवसरमा रेडपाण्डा संरक्षण सञ्जाल समिति फेदी र रावाखोवा–तापखोला–लिदिङखोला संरक्षण मञ्चलाई ताम्रपत्रकासाथमा सम्मान गर्ने जनाइएको छ ।
यसैबीच, खोटाङमा आयोजित लाटोकोसेरो तथा हुचिल उत्सवको अवसरमा दुई व्यक्ति तथा एक संस्थालाई प्रकृति संरक्षण पुरस्कार प्रदान गरिएको छ । लाटोकोसेरो तथा हुचिल उत्सवको अवसरमा बिगत दुई दशकदेखि पंक्षी अनुसन्धान र संरक्षणमा योगदान पु¥याएकामा कास्की माछापुछ्रे गाउँपालिका धितालका रामजी गौतम, एक दशकदेखि सञ्चार माध्यमबाट वन्यजन्तु तथा प्रकृति संरक्षणमा महत्वपूर्ण योगदान गरेकामा बर्दिया गुलरिया नगरपालिका बंगलामुखी मन्दिर टोलका यादव आचार्यलाई प्रकृति संरक्षण पुरस्कार प्रदान गरिएको हो ।

चरा संरक्षणका लागि विगत चार दशकदेखि वैज्ञानिक अनुसधान र सहभागीतामुलक संरक्षणका माध्यमबाट योगदान पु¥याएकामा नेपाल पंछी संरक्षण सङ्घ लाजिम्पाट काठमाडौंलाई पुरस्कृत गरिएको छ । दुई संरक्षणकर्मी र एक संस्थालाई जनही नगद रु. २५ हजार राशीको प्रकृति संरक्षण पुरस्कार प्रदान गरिएको हो ।
उत्सवकै अवसर पारेर जालपाले हुचिललाई वडा पंक्षी घोषणा गरेको छ । वडा कार्यालय जालपाले हुचिल (हाप्सिलो)लाई वडा पंक्षी घोषणा गरेको हो ।
वडामा रहेका लाटोकोसेरो अनुसन्धान र संरक्षणका लागि विशेष पहल गर्दै नेपाल सरकारमार्फत अनुमोदन गराउनेगरी हुचिललाई वडा पंक्षी घोषणा गरिएको वडाध्यक्ष राईले बताउनुभयो । उत्सवमा हजारौं सहभागी रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया