पूर्वउपप्रधानमन्त्री भरतमोहनको स्वास्थ्यमा थप समस्या, सिसियूमा उपचार

Halesi

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा थप समस्या देखिएपछि नख्खुस्थित मेडिसिटी अस्पतालको सिसियू ९सघन० कक्षमा उपचार सुरु गरिएको छ । मुटु, श्वासप्रश्वास र छातीको संक्रमणको उपचारका लागि गत २३ पुसमा अस्पताल भर्ना भएका अधिकारीको स्वास्थ्यमा क्रमिक सुधार भएपछि उनी ३० पुसमा डिस्चार्ज भएका थिए । तर, अचानक समस्या बल्झिएपछि पुनः २ माघको राति सोही अस्पताल भर्ना गरिएको थियो ।

‘मुटु र श्वासप्रश्वासमा समस्या थपिएपछि अहिले सघन उपचार कक्ष ९सिसियू०मा उपचार भइरहेको छ,’ अधिकारीका स्वकीय सचिव महेश विष्टले भने, ‘२४ घन्टाको अब्जर्भेसनमा नयाँ औषधि चलाएर मुटुमा देखिएको समस्या कम गर्ने चिकित्सकहरूको प्रयास छ ।’ मुटुरोग विशेषज्ञ डा। रञ्जित शर्मासहितको टोलीले अधिकारीको उपचार गरिरहेको छ ।
उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले चिकित्सकलाई उद्धृत गर्दै अधिकारीको मुटुको चाल र छातीको रिपोर्ट सुधारोन्मुख देखिएको जानकारी दिए । चिकित्सकहरूले होहल्ला र भेटघाटका कारण संक्रमण बल्झिएकाले समस्या थपिएको परिवारका सदस्यहरूलाई जानकारी दिएका छन् ।
नेताहरूले लिए स्वास्थ्य अवस्थाको जानकारी

नेता अधिकारीको स्वास्थ्यमा थप समस्या देखिएपछि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी समिति सदस्य जनार्दन शर्मा, मन्त्रीहरू, नेकपाका स्थायी समिति र केन्द्रीय कमिटीका नेताहरूले भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

यसैबीच, महासचिव विष्णु पौडेलले विज्ञप्तिमार्फत मेडिसिटी अस्पतालमा सिसियू कक्षमा अधिकारीको उपचार भइरहेको जानकारी दिँदै पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् । ८२ वर्षीय अधिकारीले उपप्रधानमन्त्री, अर्थमन्त्री, स्थायी कमिटी सदस्यलगायत पार्टी, राजकीय र सामाजिक क्षेत्रका महत्वपूर्ण जिम्मेवारी सम्हालेर देश र जनताको सेवा गरेको विज्ञप्तिमा स्मरण गरिएको छ। नयाँपत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया