रसुवाको भीषण बाढी : खोटाङका नागरिकको अवस्था यकिन गर्न जिल्ला प्रशासनको आग्रह

Minakshi Rai

खोटाङ, १० भदौ । रसुवाको भोटेकोशी लगायतमा आएको भीषण बाढी प्रभावित जिल्लाहरूमा रोजगारी, व्यापार तथा अन्य कामको सिलसिलामा गएका खोटाङ जिल्लाका नागरिकको अवस्था यकिन गर्न जिल्ला प्रशासन कार्यालय खोटाङले आग्रह गरेको छ । प्रशासनले बुधबार साँझ एक सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका खोटाङवासी नागरिक सुरक्षित रहे/नरहेको र आफ्ना आफन्तहरूसँग सम्पर्कमा आए/नआएको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो ।

प्रशासनद्वारा जारी सूचना अनुसार बाढी प्रभावित क्षेत्रमा गएका व्यक्तिहरूले तुरुन्त आफ्ना आफन्तहरूसँग सम्पर्क गर्न र आफन्तहरूले पनि उनीहरूको अवस्था यकिन गरी नजिकको प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय खोटाङमा जानकारी गराउन आग्रह गरिएको छ । भोटेकोशीमा आएको बाढीले रसुवा लगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रशासनले आफ्ना नागरिकको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरण तथा उद्धारका लागि यो कदम चालेको हो ।

प्रशासनका प्रशासकीय अधिकृत शम्शेरबहादुर राईद्वारा हस्ताक्षर भएको सूचनामा नागरिकहरूको सहजताका लागि प्रमुख जिल्ला अधिकारी ९८५२८०७७७७ र जिल्ला प्रहरी कार्यालय, खोटाङ ९८५२८०५५५५को नम्बरमा सम्पर्क गर्न सकिने उल्लेख छ । प्रशासनले जोखिममा परेका आफ्ना नागरिकको तत्काल पहिचान र उद्धार कार्यलाई प्रभावकारी बनाउन यो सूचना जारी गरिएको जनाएको छ ।

चिनको सिचाङ (तिब्बत) शिगात्से शहरको केरोङ काउन्टीको केरुङ बन्दरगाहबाट नेपालतर्फ पहिरो जाँदा तिब्बत क्षेत्रबाट नेपाल छिर्ने भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएको थियो । भोटेकोशी, त्रिशूली र नारायणी नदीमा आएको बाढीले जिल्लामा भौतिक क्षति नगरेपनि जिल्लावासी त्यस क्षेत्रमा रहेको हुन सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया