खोटाङ, १० भदौ । चिनियाँ पक्षले रसुवामा पुनः बाढी आउन सक्ने चेतावनी दिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एक अधिकारीलाई चिनियाँ पक्षले दिएको जानकारीअनुसार, बाढी आएको क्षेत्रमा अझै करिब ७ मिटर अग्लो पानी थुनिएको प्राकृतिक बाँध रहेको र उक्त बाँध जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेको जनाइएको छ ।
चिनियाँ पक्षबाट प्राप्त उक्त सूचनापछि नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका नागरिक तथा राहत–उद्धारमा खटिएका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
प्राप्त जानकारीअनुसार, उक्त प्राकृतिक बाँध फुटेमा तल्लो तटीय क्षेत्रमा पुनः बाढीको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गरिएको हो ।
राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा अन्य टोलीलाई समेत सम्भावित जोखिमलाई ध्यानमा राख्दै विशेष सतर्कता अपनाउन भनिएको छ ।


