खोटाङ, १० भदौ । प्रधानमन्त्री बालेन साहले रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिन नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरी परिचालन गरिएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत जानकारी दिनुहुँदै प्रधानमन्त्री साहले अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको बनाउनुभएको छ ।
विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टोली, नेपाल स्काउट र रेडक्रसलगायतका निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा राहत कार्य अघि बढाइएको उहाँले उल्लेख गर्नुभएको छ । अतिरिक्त एम्बुलेन्स तथा मेडिकल जनशक्ति प्रभावित क्षेत्रमा पठाउने प्रक्रिया पनि अघि बढिसकेको छ ।
बाढीको जोखिम रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई निर्देशन दिइएको प्रधानमन्त्री साहले बताउनुभएको छ । स्थानीय बासिन्दालाई एसएमएस तथा फोनमार्फत सूचना दिई सुरक्षित स्थानमा जान अलर्ट गरिएको जनाइएको छ ।
सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई प्रभावित क्षेत्रतर्फ पठाइएको छ । निजी हेलिकप्टर कम्पनीहरूलाई समेत हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको र केही निजी हेलिकप्टर प्रभावित क्षेत्रतर्फ परिचालन भइसकेको प्रधानमन्त्री साहले बताउनुभएको छ ।
आगामी आवश्यक कदमबारे निर्णय लिन उच्चस्तरीय बैठक बोलाइएको उहाँले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री साहले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा सम्बन्धित सरकारी निकायबाट जारी हुने उद्धार तथा राहतसम्बन्धी अपडेट कुर्न आग्रह गर्नुभएको छ । थप जानकारी तथा राहतसम्बन्धी समन्वयका लागि १२३४, १०० र ११११ नम्बरमा सम्पर्क गर्न सकिने उहाँले बताउनुभएको छ ।


