खोटाङ, ३० साउन । जिल्लामा गाउँपालिका, नगरपालिका वा वडाको सीमाना तथा सङ्ख्या हेरफेर गर्न खोटाङमा बहस थालिएको छ । गत असार–४ गते नेपाल सरकारको राजपत्रमा प्रकाशित मापदण्डअनुसार जिल्ला समन्वय समिति खोटाङको पहलमा गाउँपालिका तथा नगरपालिका र वडाको सङ्ख्या तथा सीमाना हेरफेर, एक आपसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी बहस थालिएको हो ।
जिल्ला समन्वय समिति खोटाङले साउन–३० गते दिक्तेलमा कार्यक्रम आयोजना गरेर जिल्लाका राजनीतिक दल, स्थानीय सरकार प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकाय लगायतलाई भेला गरेर स्थानीय तहको सीमाना र सङ्ख्याको पुनःसंरचनाका लागि प्रारम्भिक छलफल थालेको छ । पहिलो दिनको छलफलमा स्थानीय तहको सङ्ख्या तथा सीमाना हेरफेर सम्बन्धी मापदण्डका विषयमा प्रारम्भिक अध्ययन गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको अध्ययन समितिले सरोकारवाला निकायसँग बहस र छलफलसँगै स्थलगत अध्ययन गर्ने र विज्ञको सहयोगमा मापदण्डअनुसार काम टुङ्ग्याउने जनाइएको छ । दश स्थानीय तह रहेको खोटाङमा दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वटा वडा रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेक सबै राजनीतिक दलका नेता तत्कालका लागि जिल्लाको नगरपालिका, गाउँपालिका र वडाको सङ्ख्या घटाउन नहुने पक्षमा देखिएका छन् । बरु कुनै वडाको अपायक क्षेत्रलाई टुक्र्याएर पायक पर्ने अर्को वडा वा पालिकामा गाभ्न सकिने मत व्यक्त भएका छन् ।
बैठकमा सहभागी नेताहरुले वडालाई घटाउनुको सट्टा आवश्यकताको आधारमा टुक्र्याएर दुईवटा वडा बनाउन पहल गर्नुपर्ने धारणा राखेका छन् । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजित कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।


