खोटाङ, २८ साउन । जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८२÷०८३ मा २०६ वटा मुद्दा दर्ता भएकामा ८४ वटा मुद्दा फछ्र्योट गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८२÷०८३ मा सम्पादित कार्यहरूको समीक्षा तथा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम बिहीबार आयोजना गरेर जिल्लाको शान्ति–सुरक्षा, अपराध अनुसन्धान तथा मुद्दा फछ्र्योटको अवस्थाबारे जानकारी दिएको हो ।
प्रहरीले वि.सं. २०८२ साउनदेखि २०८३ असार मसान्तभित्र दर्ता तथा फछ्र्योट भएका मुद्दाका विवरण सार्वजनिक गरेको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सवारी ज्यान, सवारी अङ्गभङ्ग, आत्महत्या दुरुत्साहन, जबरजस्ती करणी, चोरी तथा डाँकासम्बन्धी कसूर, जबरजस्ती करणी उद्योग, हातहतियार तथा खरखजाना, बहुविवाह, गर्भ संरक्षणविरुद्धको कसूर, लागूऔषध, अभद्र व्यवहार, आपराधिक उपद्रव, बैङ्किङ कसूर, पशुपन्छीसम्बन्धी कसूर, जुवा तथा मानव बेचबिखनलगायतका ८४ वटा मुद्दा फछ्र्योट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार यसअघि आर्थिक वर्ष २०८०÷०८१ मा २१५ वटा मुद्दा दर्ता भएकामा २१५ वटै फछ्र्योट भएका थिए । आर्थिक वर्ष २०८१÷०८२ मा १२० वटा मुद्दा दर्ता भएकामा ९९ वटा फछ्र्योट भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८२÷०८३ मा जिल्लामा ७२ जनाले आत्महत्या गरेका छन् । महिला तथा बालबालिकाविरुद्धका मुद्दा आर्थिक वर्ष २०८०÷०८१ मा ३७, २०८१÷०८२ मा ४७ र २०८२÷०८३ मा २६ वटा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
जिल्लामा ३१ जना महिला, १२ जना पुरुष र २२ जना बालबालिका गरी ६५ जना हराएकामा सबै फेला परेको प्रहरीले जनाएको छ । विभिन्न समयमा विभिन्न ठाउँबाट हराएका व्यक्तिहरुको हातहतका प्रहरी परिचालन गरेर खोजीगरी सम्बन्धित व्यक्ति तथा परिवारलाई बुझाइएको जनाइएको छ ।
त्यस्तै, ८६ वटा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने ९९ जना घाइते भएका छन् । पटक–पटक दुर्घटना गराउनेमध्ये एक जना सवारी चालकलाई निलम्वनका लागि सिफारिस गरिएको जनाइएको छ ।
प्रहरीले दिएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षभरिमा ६७८ वटा उजुरी तथा निवेदन कार्यालयमा प्राप्त भएको जनाइएको छ । आकस्मिक सहायताका लागि दुई हजार ४४० वटा कल आएको तथा समुदाय–प्रहरी साझेदारीअन्तरगत ७४० वटा कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
वन पैदावार तथा नदीजन्य स्रोतको अवैध कारोबार, उत्खनन् र ओसारपसार नियन्त्रणबाट रु एक लाख ५५ हजार ३०० राजस्व सङ्कलन भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रशासन, डिभिजन वन तथा सम्बन्धित कार्यालयहरुसँगको समन्वयमा उक्त राजस्व रकम सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाको शान्ति–सुरक्षा थप मजबुत बनाउँदै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन आफूहरु सक्रियतापूर्वक लागिपरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । नागरिकसँग प्रहरीको सम्बन्धलाई अझ सुदृढ बनाउनेतर्फ प्राथमिकता दिने, समुदायसँगको सहकार्य बढाउँदै अपराध न्यूनीकरण तथा नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने प्रहरीको प्रमुख दायित्व भएकाले सोहीअनुसार अगाडि बढेको प्रनाउ बुढाथोकीले बताउनुभएको छ ।


