साउन, १९ खोटाङ । पहिरो पन्छाइएपछि मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको दिक्तेल–चखेवा सडक सञ्चालनमा ल्याइएको छ । साउन १८ गते दिउँसो ४ बजे मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खामा खसेको पहिरो पन्छाइएपछि सडक एकतर्फी खुलेको हो । पहिरो पन्छाएर सडकको सिंगल ट्र्याक खोलेर सवारी साधन वारपार गर्ने व्यवस्था मिलाइएको सडक डिभिजन हर्कपुरका सुपरभाइजर रेवत राईले बताउनुभएको छ ।
सडकमा पहिरो खसेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौं आउजाउ गर्ने यात्रु तथा मालवाहक सवारी साधन माम्खामा रोकिएका थिए । यस्तै, जीप तथा स्कुलको बस पनि घण्टौं रोकिएको थियो । सडकको पिच भागको आधा भागको पहिरो हटाएर सबै गाडीलाई पार गराइएको सुपरभाइजर राईले बताउनुभएको छ ।
पहिरो पन्छाउनका लागि सडक डिभिजन हर्कपुर र पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय, सित्खा, रामेछापको एक–एक वटा जेसिभि प्रयोग भइरहेको छ । पहिरोले पुरिएको सडकको दुबै ट्र्याक खोल्ने प्रयास भइरहेको छ । माम्खामा वर्षा भए पुःन पहिरो खस्ने खतरा छ । सडकको दुबै ट्र्याक खोल्न अझै एक दिन लाग्ने अनुमान गरिएको छ । पुःन खस्ने पहिरोले कुनातिरको ट्र्याक पुरे पनि छेउतिरको ट्र्याकबाट सवारी साधन हिँड्न मिल्ने बनाउनका लागि दुबै ट्र्याक खोल्ने प्रयास भइरहेको राईले बताउनुभएको छ ।
सो स्थानमा गत साउन ३ गते राती ठूलो पहिरो खसेको थियो । सो पहिरो पन्छाउन पाँच दिन लागेको थियो । त्यस यता बेलाबेलामा सडकमा हिलो माटो खस्ने र पन्छाउने गरिएको छ । पहिरो पन्छाएर सडक खुलाएपनि पानी परेको समयमा पुनः पहिरो खसेर सडक बन्द हुने गरेको बताइएको छ । स्थायी रुपमा पहिरो व्यवस्थापनको लागि सम्बन्धित निकायहरुले चाडै प्रक्रिया अघि बढाउनु पर्ने यात्रुहरुको माग रहेको छ ।
मध्य पहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–सेखुवा १० किलोमिटर सडक कालोपत्रे हुन बाकी छ । हिलाम्मे उक्त सडकमा सवारी साधन फसेर यात्रा कठीन हुने गरेको छ । मेवा खोला नजिक झरेको पहिरोले उक्त सडकको यात्रामा थप सास्ती थपिएको हो । यस्तै, सोही दिक्तेल–भोजपुर सडकमा पर्ने पंखु खोलामा पक्की पुल अलपत्रहुँदा उक्त खोलाले पनि बेलाबेला यात्रामा अवरोध गर्ने गरेको छ । पंखु खोलामा बेलिबिृज निर्माण गर्न र बाकी रहेको १० किलोमिटर सडक कालोपत्रेको लागि मध्य पहाडी लोकमार्गको कार्यालय रामेछापले ठेक्का खुलाएको छ ।


