किसानलाई व्यवसायिक बनाउन मौरीको आधुनिक घारसहित तालिम प्रदान

Halesi Khabar

खोटाङ, ३० चैत । जन्तेढुङ्गा गाउँपालिकाले स्थानीय किसानलाई मौरीको आधुनिक घारसहित निःशुल्क तालिम प्रदान गरेको छ । गाउँपालिकाको ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ अन्तरगत विनियोजन गरिएको बजेटबाट किसानलाई मौरीको आधुनिक घारसहित १५ दिने व्यवसायिक तालिम उपलब्ध गराइएको हो ।

परम्परागतरुपमा मौरी पालन गर्दै आएका किसानलाई व्यवसायिक बनाउन आधुनिक मौरीको घारसहितको तालिम उपलब्ध गराइएको गाउँपालिका प्रमुख अरुणदेवी राई ‘दिक्षा’ले जानकारी दिनुभएको छ । “हाम्रो गाउँपालिकावासीले बिगतदेखि नै परम्परागतरुपमा मौरी पालन गरिरहेका छन् । उनीहरुलाई व्यवसायिक बनाउन मौरीको आधुनिक घारसहित तालिम उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “किसानका लागि गाउँपालिकाले लगातार तीन वर्षदेखि तालिम दिइरहेको छ । गाउँपालिकाले उपलब्ध गराएको तालिम लिएका १२ जना किसानले व्यवसायिक मौरी पालनसमेत सुरु गरेका छन् ।”

स्थानीय किसानलाई मौरीको आधुनिक घार निर्माण तथा व्यवसायिक मौरी पालनमा आकर्षित गर्न यस वर्ष सिन्धुलीबाट मौरी विशेषज्ञ झिकाएर १५ दिने निःशुल्क तालिम उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले उपलब्ध गराएको निःशुल्क तालिममा १३ जना स्थानीय किसानले सक्रियरुपमा सहभागिता जनाएको गाउँपालिकामा सञ्चालित गरिबी निवारणका लागि उद्यम विकास शाखा प्रमुख पवित्रा विश्वकर्माले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले मौरीको आधुनिक घारसहितको तालिममा उपलब्ध गराएपछि सहभागी किसानहरुसमेत उत्साहित बनेका छन् । परम्परागत घारमा उत्पादित मौरीको मह बिक्री गरेर घर खर्च धान्दै आएका स्थानीय किसानहरुलाई व्यवसायिक बनाउन निःशुल्क तालिम र घार उपलब्ध गराएपछि उत्साहित बनेका हुन् ।

गाउँपालिकाले पहिलो वर्ष २१ जना किसानलाई सहभागी गराएर व्यवसायिक मौरी पालन तालिम उपलब्ध गराएको थियो । दोस्रो वर्ष सोही तालिममा सहभागीलाई पुर्नताजकी तालिम उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया