खोटाङ, १८ मङ्सिर । प्रकृति पूजक किरात समुदायको महान चाड साकेला उँधौली आज (बिहीबार)देखि सुरु भएको छ । किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड मनाउने चलन छ ।
पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराती पुर्खा÷धामीहरुले प्रकृतिको पूजा आराधना गरी उँधौली चाडको शुरुवात गर्ने चलन छ । किरात ऐतिहासिकस्थल तथा भूमे थानहरुमा पूजा गर्दै जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रमहरुसमेत राखिएको छ ।
वर्षको दुई पटक मनाइने साकेला चाडको उँधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । उँधौली÷उँभौली दुवै चाडमा कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामल लगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किरातले जानकारी दिनुभएको छ ।
साकेला उँधौलीको अवसर पारेर जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थलहरु हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ–जायजुम, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोटगढी, मझुवागढी र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङ लगायत साकेला थानमा पूजाआजा गर्दै साकेला सिली नाच्ने चलन छ । उँधौली र उँभौलीमा किरात राईहरुको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला सिली नाच्ने गरिन्छ ।
छितको गुन्यु मखमलको चोली, पहेंलो पटुकी, दौरासुरुवाल, ढाका टोपी लगायत किराँती मौलिक भेषभुषामा सजिएर हरेक किराँत राईहरुको घरघरमा नाच्दै गाँउदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किराँत समुदाय मात्र नभई गैरकिरात समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् । चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिन्छ ।
हरेक वर्ष जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मझुवागढीबाट विधिवत् रुपमा सुरु गरिने साकेला उँधौलीको अवसरमा आफन्तजन तथा इष्टमित्रबीच शुभकामना आदानप्रदानसमेत गरिन्छ । बालकदेखि वृद्धसम्म एउटै लहरमा बसेर सामूहिक रूपमा नाचिने साकेला सिलीले दर्शकलाई समेत भरपुर मनोरञ्जन दिने गर्दछ ।
उँधौली तथा उँभौलीको अवसरमा किराँत राईहरुले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायलेसमेत साकेला सिली ना“च्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध सँस्कृतिको रुपमा विकास भएको छ । साकेला चाडले जातीय, धार्मिक तथा साँस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्धन्द्धलाई निरुत्साहित गर्न भूमिका खेल्ने गरेको जानकारहरु बताउँछन् ।
साकेला उँधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिएको छ । साकेला उँधौली तथा उँभौली किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा उँधौली १५ तथा उँभौली महिना दिनसम्म मान्ने गरेका छन् ।
अन्नबाली लगाउने समय अर्थात वैशाखे पूर्णिमादेखि उँभौली र अन्न भित्र्याउने बेला अर्थात मङ्सिरे पूर्णिमादेखि उँधौली चाड मनाउने चलन छ । चराचुरुङगी बेँशीतिर झर्ने र लेकतिर जाने याममा मनाइने यो चाडमा आफन्तजन, चेलीबेटी लगायत भेला हुने र दुःख÷सुखका कुरा गर्ने चाडका रुपमा पनि लिइन्छ ।


