मिनाक्क्षी राई
खोटाङ, १० भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा हरितालिका तीजको अवसरमा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा तीज विशेष शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ । दिक्तेलस्थित हेलिप्याडमा ‘हरितालिका तीजको महत्व र हाम्रो भूमिका’ शीर्षकमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा नगरपालिकाभित्रका ११ माध्यमिक विद्यालयका ११ जना छात्राहरूले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा सरस्वती मा.वि. दिक्तेलकी विपाशा खनाल प्रथम, श्री मा.वि. लफ्याङकी कविता श्रेष्ठ दोस्रो, चम्पावती मा.वि. विजयखर्ककी रानिशा खनाल तेस्रो भएकी छन् । त्यस्तै, पञ्च मा.वि. दिक्तेलकी युनिका आचार्य र शितला मा.वि. खाल्लेकी प्रनिशा राईले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगिताका विजेताहरूलाई क्रमशः ६ हजार, ४ हजार, ३ हजार र २–२ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा सहभागी अन्यलाई प्रमाणपत्रसहित यातायात खर्चबापत रु पाँच÷पाँच सय उपलब्ध गराइएको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले जानकारी दिनुभयो ।
प्रतियोतिाको लागि निर्णायकमा नेतृ दुर्गाजयन्ती राई, अधिवक्ता ओमप्रकाश घिमिरे र शिक्षक जसराज किराती रहनुभएको थियो । नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवम् वडा नं. १२ जालपाका वडाध्यक्ष दानबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो ।
सांस्कृतिक तथा धार्मिक पर्वको रूपमा मनाइने तीज महिलाको आत्मबल, सामाजिक एकता र सांस्कृतिक धरोहरसँग जोडिएको पर्व भएको भन्दै वक्ताहरूले यसको महत्वलाई जोड दिएका थिए । महिलाहरूले तीजलाई पारिवारिक मेलमिलाप, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई जोगाउने पर्वका रूपमा चिनाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा सहभागीहरुबीच तीज विशेष शुभकामना आदान–प्रदानसमेत गरिएको थियो । दश स्थानीय तह रहेको जिल्लामा हरितालिका तीजको अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।


