खोटाङ, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा चयन हुनुभएको छ । रास्वपाले आज (शनिबार) दिक्तेल बजारमा आयोजना गरेको प्रथम जिल्ला भेलाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ निवासी थापालाई सभापतिमा बहुमतको आधारमा चयन गरेको हो ।
रास्वपा खोटाङको जिल्ला सभापतिमा नवनिर्वाचित थापासँगै डा.राजकुमार राई आकाङ्क्षी देखिनुभएको थियो । थापा र राईमध्ये एकजनालाई जिल्ला कार्यसमिति खोटाङको सभापतिमा चयन गर्न भेलामा सहभागी सदस्यहरुलाई अवसर दिँदा थापाको पक्षमा बहुसङ्ख्यक सदस्यहरु उभिएको रास्वपाले जनाएको छ ।
दिक्तेल बजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित जिल्ला भेलाले थापाको नेतृत्वमा दश सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको जनाइएको छ । समितिको सचिवमा सुमन खत्री, सह–सचिवमा राजन अधिकारी र सदस्यहरुमा टङ्ककुमार मगर, प्रकाश अधिकारी र तारा दाहाल चयन हुनुभएको छ ।
एकजना उपसभापति र तीनजना सदस्य पछि समावेशी र भूगोलका आधारमा मनोनयन गर्नेगरी जिल्ला कार्यसमिति चयन गरिएको रास्वपा खोटाङले जनाएको छ । पेशाले सिभिज इन्जिनियर रहनुभएका नवनिर्वाचित सभापति थापा यसअघि सङ्घीय जिल्ला निर्वाचन क्षेत्र समिति सचिवको भूमिकामा हुनुहुन्थ्यो ।
जिल्ला भेलामा रास्वपाका केन्द्रीय सह–प्रवक्ता रमेश प्रसाइँ, केन्द्रीय सदस्य एवम् प्रतिनिधिसा सदस्य तोषिमा कार्की, कोशी प्रदेश समितिका उपसभापति सरिन तामाङ, महामन्त्री लालबिक्रम थापा लगायतले सम्बोधन गर्नुभएको थियो । जिल्ला भेलालाई सम्बोधन गर्नुहुने नेताहरुले पूराना पार्टीका नेताहरुले देश विकास गर्नुको सट्टा आफ्नो स्वार्थपूर्ति गर्न लागिपरेकाले विकल्पको रुपमा आफूहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना गरेको प्रस्ट्याएका छन् ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित स्थानीय हेलिप्याडमा आयोजना गरिएको कार्यक्रममा जिल्लाभरबाट रास्वपा समर्थक नेता कार्यकर्ता सहभागी भएका थिए । रास्वपाको कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा सहभागी सबै चउरमा पङ्क्तिवद्ध भएर बसेका थिए ।
जिल्ला कार्यसमिति चयन गर्नेगरी आयोजित रास्वपाको प्रथम जिल्ला भेलाको अध्यक्षता डा. राजकुमार राईले गर्नुभएको थियो । प्रथम जिल्ला भेला सम्पन्न भएलगत्तै सहप्रवक्ता प्रसाइँ र सदस्य कार्की आजै बेलुका छिमेकी जिल्ला ओखलढुङ्गा जानुभएको रास्वपाका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर कार्यसमितिका संयोजक पर्शुराम थापा ‘आशिष’ले जानकारी दिनुभएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा रास्वपाले यसअघि चारवटा स्थानीय तहमा आफ्नो सङ्गठन बिस्तार गरिसकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा खोटेहाङ, जन्तेढुङ्गा र बराहपोरी गाउँपालिकामा रास्वपाले झण्डै पाँच महिनाअघि पालिकास्तरीय समिति गठन गरेको हो ।