काँग्रेस नगर समिति सदस्य एलबी मगर माओवादी केन्द्रमा प्रवेश

Halesi Khabar
329 Shares

खोटाङ, २७ जेठ । नेपाली काँग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगर समिति सदस्य लालबहादुर मगर ‘एलबी’ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रवेश गर्नुभएको छ । पहिचानको मुद्दामा अग्रपङ्तीमा रहेर आन्दोलनको नेतृत्व गर्दै आउनुभएका मगर आइतबार औपचारिकरुपमा माओवादी केन्द्र प्रवेश गर्नुभएको हो ।

काग्रेस परित्याग गरेर माओवादी केन्द्र प्रवेश गर्नुभएका मगरलाई पार्टीका प्रदेश समिति सचिवालय सदस्य सुरेश राई, प्रदेश समिति सदस्यहरु टङ्क थापा र होमकाजी आचार्य ‘विनोद’, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका समिति अध्यक्ष एवम् नगर उपप्रमुख विशन राई, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का केन्द्रीय सचिव रविन खम्बु, जिल्ला संयोजक डार्विन चाम्लिङ, वाईसियल नगर समिति अध्यक्ष भूपेन्द्र राई लगायतले खादा ओढाएर स्वागत गर्नुभएको छ । माओवादी केन्द्र प्रवेश गर्नुभएका मगरलाई विद्यार्थी सङ्गठनको केन्द्रीय समिति सदस्य मनोनितका लागि जिल्लाबाट आइतबार नै केन्द्रमा सिफारिस गरिएको संयोजक चाम्लिङले जानकारी दिनुभएको छ ।

तत्कालीन सङ्घीय समाजवादी पार्टी (हाल जनता समाजवादी पार्टी)का विद्यार्थी सङ्गठन अग्रगामी विद्यार्थी युनियन खोटाङका जिल्ला अध्यक्षबाट राजनीति शुरु गर्नुभएका मगर वि.सं. २०७८ भदौ–१८ गते काँग्रेस प्रवेश गर्नुभएको थियो । पार्टी प्रवेश गरेलगत्तै मगरलाई काँग्रेसले नगर समिति सदस्यमा मानोनित गरेको थियो ।

काँग्रेस प्रवेश गर्नुअघि समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्यसमेत हुनुभएका मगर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् खोटाङका निवर्तमान उपाध्यक्षसमेत हुनुहुन्छ । गत वैशाख–२० गते दिक्तेलमा सम्पन्न चौथो जिल्ला अधिवेशनमा आफ्नै नेतृत्वमा छुट्टै समिति घोषणा गर्नुभएका मगरले अन्तमा विज्ञप्ति जारी गर्दै फुर्वा शेर्पा नेतृत्वको समितिलाई समर्थन जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया