युवा नेता विनोद राई ‘संसार’द्धारा विद्यार्थीलाई झोला उपहार

Halesi Khabar
350 Shares

खोटाङ, १६ जेठ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका युवा नेता विनोद राई ‘संसार’ले विद्यार्थीलाई उपहारस्वरुप झोला वितरण गर्नुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय समितिको सामाजिक सेवा विभाग प्रमुख एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका जिल्ला सदस्यसमेत रहनुभएका नेता राईले सोही गाउँपालिकाको वडा नं. १ याम्खास्थित श्रीदेवी आधारभूत विद्यालय खमारेका कक्षा–१ देखि कक्षा–८ मा अध्ययनरत छात्र÷छात्रालाई झोला वितरण गर्नुभएको हो ।

युवा नेता राईले आफ्नो व्यक्तिगत खर्चमा खरिद गरेर ल्याएको झोला बुधबार ६५ जना छात्र÷छात्रालाई वितरण गर्नुभएको विद्यालय प्रशासनले जनाएको छ । युवा नेता राईले झोला उपलब्ध गराएपछि विद्यार्थीसमेत हर्षित भएका छन् ।

झोला अभावमा हातमा किताब÷कापी बोकेर हिँड्न बाध्य विद्यार्थीलाई लक्षित गर्दै झोला प्रदान गरिएको युवा नेता राईले बताउनुभएको छ । “सानोमा दुई घण्टा हिँडेर स्कूल धाउन पथ्र्यो । हातमा किताब बोक्नुपर्ने, साउनको बेला लड्दा खेतमा किताब खसेर भिजेको थियो”, उहाँले भन्नुभयो, “किताब÷कापी, डटपेन हराउने समस्या बेहोरेका थियौँ । त्यही आफ्नै बिगत सम्झिएर विद्यार्थीलाई झोला वितरण गरेको हुँ ।”

वि.सं. २०८४ सालसम्ममा गाउँपालिकाभरीका सबै माध्यमिक तहका विद्यालयमा अध्ययनरत छात्र÷छात्रालाई झोला वितरण गर्ने लक्ष्य रहेको युवा नेता राईले बताउनुभयो । विद्यार्थीलाई सामाजिक सेवाको भाव जगाउनका लागि पनि झोला वितरण अभियान शुरु गरिएको युवा नेता राईले बताउनुभएको छ ।

आफूले कमाएको जम्मा रकमको २० प्रतिशत सामाजिक काममा खर्च गर्ने घोषणा अन्तरगत विद्यार्थीलाई झोला वितरण अभियान शुरु गरेको नेता राईले बताउनुभएको छ । वि.सं. २०५८ साल मङ्सिर–१५ गते जनता माध्यमिक विद्यालय भण्डारीडाँडाको विद्यार्थी सङ्गठनका अध्यक्षबाट राजनीति शुरु गर्नुभएका नेता राईले राजधानी काठमाडौँमा रेष्टुरेन्ट तथा काष्ठकला व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया