पाँचकर्ण राई ‘पिके’ कोशी प्रदेशको सामाजिक विकासमन्त्रीमा नियुक्त

Halesi Khabar
42 Shares

खोटाङ, ४ जेठ । खोटाङ प्रदेशसभा (क)का प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ कोशी प्रदेश सरकारको सामाजिक विकासमन्त्री नियुक्त हुनुभएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्दा पिकेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी परेको हो ।

प्रदेश सरकारका नवनियुक्त सामाजिक विकासमन्त्री पिके लगायतले शुक्रबार नै पद तथा गोपनीयताको शपथसमेत लिनुभएको छ । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख प्रशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विजयी पिके यसअघि पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । सर्वोच्च अदालतको परमादेशमा मुख्यमन्त्री नियुक्त हुनुभएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पिकेले गत भदौ–२२ गते पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो ।

कार्की नेतृत्वमा विस्तारित मन्त्रीमण्डल अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालय लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालय राजेन्द्र कार्की, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय एकराज कार्की र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पिकेले पाउनुभएका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नारायण बुर्जामगरलाई दिइएको छ भने, उद्योग, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री आफैले राख्नुभएको जनाइएको छ । राज्यमन्त्रीमा सिर्जना राई र वन्दना झाँगडलाई पद तथा गोपनीयताको शपथ खुवाइएको छ ।

राज्यमन्त्री राईलाई मुख्यमन्त्री कार्यालय र झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्रीमण्डल विस्तारसँगै कार्की नेतृत्वको प्रदेश सरकार दश सदस्यीय पुगेको छ ।

सङ्घीय सरकारमा गठबन्धन फेरिएसँगै कार्की तेस्रो पटक गत वैशाख–२७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । आफू मुख्यमन्त्री नियुक्त भएको नौँ दिनपछि कार्कीले दोस्रो पटक शुक्रबार मन्त्रीमण्डल विस्तार गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया