जनजाति महासङ्घमा शेर्पा नेतृत्वको समितिलाई हाम्रो समर्थन छ : असन्तुष्ट पक्ष

Halesi Khabar
28 Shares

खोटाङ, २२ वैशाख । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् खोटाङको अध्यक्ष फुर्वा दोर्जी शेर्पाको समितिलाई असन्तुष्ट पक्षले समर्थन जनाएको छ । वैशाख–२० गते दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा सम्पन्न चौथो जिल्ला अधिवेशनमा निवर्तमान अध्यक्ष शेर्पा दोहोरिएर अध्यक्षमा चयन हुनुभएपछि असहमति जनाउनुभएका निवर्तमान वरिष्ठ उपाध्यक्ष लालबहादुर मगर (एलबी) र सचिव उदिम चाम्लिङले शनिबार विज्ञप्ति जारी गरेर समर्थन रहेको जनाउनुभएको हो ।

“फुर्वा दोर्जी शेर्पाको अध्यक्षतामा निर्वाचन मण्डलले सर्वसहमत घोषणा गरेको समितिलाई मेरो समर्थन छ भनी सबैमा जानकारी गराउँदै कसैलाई भ्रममा नपर्न सम्पूर्णमा जानकारी गरिन्छ ।” मगर र राईले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ । निर्वाचन अधिकृत नारायणदास राईको नेतृत्वमा सदस्य डार्विन चाम्लिङ र ध्यानबहादुर राईले शेर्पाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समन्वय परिषद् घोषणा गर्नुभएको थियो ।

समितिको वरिष्ठ उपाध्यक्षमा एलबी मगर, महिला उपाध्यक्षमा पदमकुमारी सैंजू र पर्शुराम तामाङ रहनुभएको छ । सचिवमा सप्तमणि राई, तीनजना सह–सचिवमध्ये एकजना वीरेन गुरुङ तथा दुईजना मनोनित गर्न बाँकी छ ।

कोषाध्यक्षमा किसन भुजेल तथा सदस्यहरुमा रविन सुनवार, निर्मल राई, यादव श्रेष्ठ, चित्रकला भुुजेल, भुवन राई र सँगीता राई रहनुभएको छ । खाली राखिएको दुईजना सहसचिव तथा सदस्य पदमा जातीय सङ्ख्या र भूगोलका आधारमा मनोनित गरिने नवनिर्वाचित सचिव राईले जानकारी दिनुभएको छ ।

अधिवेशनमा किरात राई यायोक्खा, जिल्ला शेर्पा सङ्घ, नेवा ध्ये दबु, मगर सङ्घ, तामाङ घेदुङ, भुजेल सेवा समाज र तमू छोजधीँबाट दुई–दुईजना प्रतिनिधि सहभागी थिए । अधिवेशनको उद्घाटन नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद्का उप–महासचिव रामकृष्ण ब्लोन तामाङले गर्नुभएको थियो ।

बन्दसत्रमा सर्वसम्मत नयाँ जिल्ला कार्यसमिति चयन गर्ने प्रयास असफल भएपछि निवर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष मगरको नेतृत्वमा छुट्टाछुट्टै समिति निर्माण भएको थियो । मगरको नेतृत्वमा गठित समितिको वरिष्ठ उपाध्यक्षमा अस्मिता लिम्बू, खुल्ला उपाध्यक्षमा श्याम बहादुर माझी, महिला उपाध्यक्षमा रेश्मा राई, सचिवमा उदिम चाम्लिङ, सहसचिवहरुमा कृष्णकुमारी तामाङ, सन्तोष श्रेष्ठ र प्रकाश मगर, कोषाध्यक्षमा मनिला सुनुवार रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया