एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन उद्घाटन, अध्यक्षमा दंगाल र राईको दाबी

Halesi Khabar
21 Shares

खोटाङ , २८ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको आठौँ जिल्ला अधिवेशन उद्घाटन भएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कबर्डहलमा आयोजित आठौँ जिल्ला अधिवेशन पार्टीका केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा एमालेका स्थायी समिति सदस्य एवम् पूर्वमुख्यमन्त्री शेरधन राई, पोलिटब्यूरो सदस्य विशाल भट्टराई, खोटाङ इन्चार्ज एवम् खानेपानीमन्त्री राजेन्द्र राई लगायतको उपस्थिति रहेको छ । एमाले कार्यकर्ता र शीर्ष नेताले अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिरहेका छन् ।

जिल्ला अध्यक्षमा वर्तमान अध्यक्ष रामप्रसाद दंगाल र उपाध्यक्ष देवबिक्रम राईको प्रतिस्पर्दा हुने देखिएको छ । उनीहरु दुवैले एकले अर्कोलाई नस्वीकार्दा चुनावी माहोल बनेको समाचार स्रोतको दावी छ ।

उपाध्यक्षका लागि वर्तमान पार्टी सचिव कुमार आचार्य र सचिवालय सदस्य उपिनकुमार राईको दावी छ । अन्य पदाधिकारीमा भने दुवै पक्षले अहिलेसम्म नाम टुङ्ग्याएका छैनन् ।

आफ्नो पक्षमा माहोल बनाउन दुवै समूहबीच प्रतिनिधि तानातानको कसरत चलिरहेको छ । एमालेको अधिवेशनका कारण दिक्तेल बजारमा चहलपहल बढेको छ । अधिवेशनमा ५७९ जना प्रतिनिधि सहभागी रहेको एमाले स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया