एमाले खोटाङको आठौँ जिल्ला अधिवेशनको नारा र लोगो सार्वजनिक

Halesi Khabar
56 Shares

खोटाङ, १३ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको आठौँ जिल्ला अधिवेशनको नारा र लोगो सार्वजनिक गरिएको छ । एमाले खोटाङले यही चैत–२८ र २९ गते हुने जिल्ला अधिवेशनका लागि मङ्गलवार दिक्तेलमा पत्रकार सम्मेलन गरेर ‘सशक्त एमाले, सुदृढ सङ्गठन समृद्धिको आधार’ भन्ने नारासँगै लोगो सार्वजनिक गरेको हो ।

चैत–१२ गते बसेको जिल्ला कमिटी खोटाङको पूर्ण बैठकले आठौँ जिल्ला अधिवेशन सफल बनाउन जिल्ला अध्यक्ष रामप्रसाद दंगालको नेतृत्वमा ३३३ जनाको मूल व्यवस्थापन समिति र दशवटा उपसमिति गठन गरेको जिल्ला सचिव एवम् प्रचार विभाग प्रमुख कुमार आचार्यले जानकारी दिनुभयो । अधिवेशनका लागि ७९ वटा वडा र जनसङ्गठनका गरी ५६५ जना प्रतिनिधिहरु अधिवेशनमा सहभागी हुने एमालेले जनाएको छ ।

एमालेले आठौँ जिल्ला अधिवेशनमा सर्वसहमत नेतृत्व चयन गर्ने प्रयास भइरहेको जनाएको छ । आठौँ जिल्ला अधिवेशनमा वर्तमान अध्यक्ष दंगाल र उपाध्यक्ष देवबिक्रम राई अध्यक्षको आकांक्षी देखिनुभएको छ ।

यद्यपि, जिल्ला अधिवेशनले सर्वसहमतिमा नेतृत्व चयन गर्ने दाबी गरिएको छ । पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्यहरु खगेन्द्र राई, रमेश पौडेल र उषाकला राई लगायत सहभागी हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया