शिक्षा, स्वास्थ्य र रोजगारमा सुधार आवश्यक छ : उपमहासचिव शर्मा

Halesi Khabar
91 Shares

खोटाङ, १० चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा नेपाल सरकारका पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालको शिक्षा, स्वास्थ्य र रोजगारको सुधार आवश्यक रहेको बताउनुभएको छ । शिक्षा, स्वास्थ्य र रोजगार नेपाल र नेपालीको मूल आधार भएकाले यसको सुधार आवश्यक रहेको नेता शर्माले बताउनुभयो ।

पार्टी कार्यकर्ता प्रशिक्षण तथा ‘दीलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को भवन उद्घाटनका लागि खोटाङ आउनुभएका नेता शर्माले समाज परिवर्तनका लागि देशका तीनवटै सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ । “देशमा राजनीतिक अस्थिरता छ । राजनीतिक अस्थितरताले जनतामा निरासा छाएको छ । यसलाई निराकरण गर्न राष्ट्रिय सहमति आवश्वक छ”, उहाँले भन्नुभयो, “राजनीतिक दलहरुले एजेण्डामा सहमति गर्नुप¥यो । राजनीतिक दलले सहमति नगरी देशले निकाश पाउँदैन ।”

देशमा पछिल्लो समय नेताको लहडमा विकास गर्ने प्रबृत्ति मौलाएको प्रति इङ्गित गर्नुहुँदै उहाँले विकासको मोडालिटी परिवर्तन गर्न आवश्यक रहेको पनि बताउनुभयो । “नेताहरुले केलाई प्राथमिकीकरण गर्ने हो त्यो स्पष्ट हुनुप¥यो । हाम्रा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्नुभएको सरकार भ्रष्टाचार नियन्त्रण अभियानमा छ । यो सँगै परराष्ट्र नीतिलाई समेत सन्तुलित बनाउनुप¥यो”, उहाँले भन्नुभयो, “सन्तुलित परराष्ट्र नीति भएमा मात्र देशले केही निकास पाउँछ ।

नेता शर्माले देशमा प्राप्त उपलब्धि समाप्त पार्ने खतरा रहेको पनि बताउनुभयो । “संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिता जस्ता उपलब्धीहरु माओवादीको दश वर्षे जनयुद्धको बलमा स्थापना गरिएको हो । यसलाई समाप्त पार्न केही शक्ति लागिपरेका छन् । यो खतराको विषय हो”, उहाँले भन्नुभयो, “यसलाई संरक्षण गर्दै कार्यान्वयन गर्न सबै जागरुक हुन आवश्यक छ । जनतामा छिटो परिणम चाहिएको छ । परिणाम खोज्ने चाहनामा प्राप्त उपलब्धी गुम्ने खतरा छ । यसलाई सांस्कृतिक रुपान्तरण अभियानका रुपमा जनतालाई सूसुचित गर्न आवश्यक छ ।”

नेता शर्माले जनप्रतिनिधिहरुले सामाजिक न्याय, न्याय सम्पादन, निष्पक्षता र जनमुखी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । दिक्तेलस्थित भवनगैरामा निर्माण गरिएको प्रतिष्ठानको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता शर्माले शहीदहरुको सपना पूरा गर्न हरेक नेतृत्वले पहल कदमी गर्नुपर्ने बताउनुभयो ।

नेता शर्माले प्रतिष्ठानको भवनसँगै सोही भवनमा स्थापना गरिएको पुस्तकालयसमेत उद्घाटन गर्नुभएको छ । प्रतिष्ठानको छ आना जग्गामा निर्माण गरिएको चारतले पक्की भवनमा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङको कार्यालयसमेत राखिएको छ ।

भवन निर्माणका लागि आर्थिक वर्ष २०७५÷०७६ मा तत्कालीन १ नंं प्रदेश (हालको कोशी प्रदेश) सरकारको रु २० लाख तथा आर्थिक वर्ष २०७६÷०७७ मा रु एक करोड २० लाख, आर्थिक वर्ष २०७८÷०७९ मा रु दश लाखगरी रु एक करोड ५० लाखमा ठेकेदारमार्फत भवन निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष सुरश राईले जानकारी दिनुभएको छ । भवनका लागि आर्थिक वर्ष २०८९÷८० मा कोशी प्रदेश सरकारबाट प्राप्त रु ७५ लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट आर्थिक वर्ष २०७९÷०८० मा रु दश लाख प्राप्त भएको जनाइएको छ ।

प्रदेशबाट प्राप्त ७५ लाखबाट भिडियो कडुमेन्ट्री निर्माण, दुईवटा ल्यापटप, एक क्यामेरा र एकवटा प्रोजेक्टर खरिद गरिएको प्रतिष्ठानले जनाएको छ । सोही रकमबाट भवनको माथिल्लो तलमा ट्रस निर्माण, कुर्सी र टेबल खरिद, भवन कलरिङ, रु तीन लाखको पुस्तक खरिद, रु दुई लाख ५० हजारको पुस्तक छाप्नुका साथै द्धन्द्धपीडितको सामाजिक, आर्थिक अवस्था सर्वेक्षेण तथा प्रतिष्ठानको वेबसाइट निर्माण गरिएको जनाइएको छ ।

नगरपालिकाबाट प्राप्त रु दश लाख रकमबाट द्धन्द्धपीडितको जीविपोर्जनका लागि नगरपालिकाभित्र रहेका २५ जना द्धन्द्धपीडितलाई रु १५ हजारका दरले उपलब्ध गराइएको जनाइएको छ । वि.सं. २०७५ पुस–२७ गते तत्कालीन प्रदेशसभा सदस्य (वर्तमान प्रतिधिसभा सदस्य) रामकुमार राई ‘पासाङ’, शहीद माता जयन्तादेवी कार्की र शहीद पत्नी शान्ति श्रेष्ठले संयुक्तरूपमा भवनको शिलान्यास गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया