ईलाका प्रशासन कार्यालयमा शाखा अधिकृत व्यवस्थापन गर्न गृहमन्त्रीसमक्ष माग

Halesi Khabar
182 Shares

खोटाङ, ६ फागुन । प्रतिनिधिसभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रामकुमार राई ‘पासाङ’ नेतृत्वको टोलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई भेटेर जिल्लाको समग्र समस्याका बारेमा ध्यानाकार्षण गराएका छन् । कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य ‘पासाङ’, संविधासभा सदस्य दुर्गाजयन्ती राई, माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डे ‘आकाश’ लगायतका नेताहरुले शनिबार साँझ गृहमन्त्री श्रेष्ठलाई सिंहदरवारस्थित कार्यकक्षमै भेटेर ध्यानाकार्षण गराएका हुन् ।

खोटाङ जिल्लामा प्रमुख जिल्ला अधिकारी विहीन, रिक्त चार शाखा अधिकृत, दुवै ईलाका प्रशासन कार्यालयका प्रमुखहरुको व्यवस्थापन लगायतका विषयमा गृहमन्त्रीको ध्यानाकार्षण गराइएको प्रतिनिधिसभा सदस्य पासाङले जानकारी दिनुभयो । “सहसचिवको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय खोटाङमा अहिले उपसचिवले काम गरिरहेका छन् । दुवै इलाका प्रशासन कार्यालयहरु (एसेलुखर्क र खोटेहाङ)मा शाखा अधिकृतहरु नहुँदा जनताले दुःख पाएका छन् । जिल्ला प्रशासनमै एक उपसचिव र दुई शाखा अधिकृतको दरबन्दी खाली छ”, उहाँले भन्नुभयो, “गृहमन्त्री ज्यूलाई उहाँकै कार्यकक्षमा भेटेर जिल्लाको समग्र समस्याको बारेमा ध्यानाकार्षण गराएका छौँ । गृहमन्त्री ज्यूले जिल्लाका सबै समस्या तत्काल व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।”

ध्यानाकार्षण टोलीले प्रहरी प्रशासनको गतिविधि, वैदेशिक रोजगारीमा करोडौँ ठगी लगायतका विषयमा समेत गृहमन्त्रीको ध्यानाकार्षण गराएको जिल्ला संयोजक आकाशले जानकारी दिनुभयो । ध्यानाकार्षण टोलीको कुरालाई गृहमन्त्री ज्यूले गम्भीरताका साथ लिनुभएको संयोजक आकाशको भनाइ छ ।

नेपाल सरकार, गृह–मन्त्रालयले शाखा अधिकृत वा कायममुकायम शाखा अधिकृतको व्यवस्था नगर्दा खोटाङका दुवै इलाका प्रशासन कार्यालयको सेवा तीन महिनादेखि अवरुद्ध छ । इलाका प्रशासन कार्यालय ऐसेलुखर्कको गत मङ्सिर–१८ गतेदेखि र इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा पुस–२४ गतेदेखि पूर्णरुपमा अवरुद्ध भएको हो ।

अहिले दुवै इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण, दलित, जनजाति प्रमाणीकरण एवम् सिफारिश, नाबालक परिचयपत्र प्रदान लगायतका सम्पूर्ण प्रशासनिक सेवा रोकिएको जनाइएको छ । ऐसेलुखर्कका नायब सुब्बा राजेन्द्र भुर्तेलको कायममुकायम शाखा अधिकृत अवधि मङ्सिर–१७ गते सकिएपछि दैनिक सेवा प्रभावित भएको हो ।

उता, इलाका प्रशासन कार्यालय, खोटाङ बजारमा कार्यरत नायब सुब्बा मोहनबहादुर राईलाई छ महिनाका लागि दिएको कायममुकायम अवधि सकिएपछि प्रशासनिक सेवा रोकिएको स्थानीय बासिन्दाले बताएका छन् । यसअघि शाखा अधिकृत नहुँदा गत असार–२६ गतेदेखि इलाका प्रशासन कार्यालयको सेवा रोकिएको थियो ।

उपसचिवले धानेको जिल्ला प्रशासन कार्यालय खोटाङमा समेत प्रयाप्त कर्मचारी नहुँदा समस्या भएको पाइएको छ । यसअघि सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहनुभएका पवित्रप्रकाश शाहलाई गृह–मन्त्रालयले गत पुस–२३ गते प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया