जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने÷नदिनेमा खोटेहाङ गाउँपालिका र ७ नं. वडा कार्यालयबीच दोहोरी

Halesi Khabar
217 Shares

खोटाङ, १ फागुन । २९ औँ जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने÷नदिने विषयमा खोटेहाङ गाउँपालिका र सोही गाउँपालिकाको ७ नम्बर वडा कार्यालय खोटाङबजारबीच दोहोरी चलेको छ । फागुन–१ गते पर्ने जनयुद्ध दिवसमा गाउँपालिकाले सार्वजनिक बिदा दिने सार्वजनिक सूचना जारी गरे लगत्तै वडा कार्यालय खोटाङबजारले सेवा प्रवाह नरोक्न अर्को सूचना जारी गरेको छ ।

गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले सोमबार सार्वजनिक बिदा सम्बन्धी सूचना जारी गर्नुहुँदै जनयुद्ध दिवसको दिन गाउँकार्यपालिकाको कार्यालय, गाउँपालिका अन्तरगका विद्यालय, स्वास्थ्य संस्था लगायत सरकारी तथा गैरसरकारी कार्यालय, सङ्घसंस्था लगायतमा सार्वजनिक बिदा गरिएको जानकारी दिनुभएको थियो । गाउँपालिकाले सार्वजनिक विदा दिएको सूचना जारी भएको केही समयपछि खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँलले अर्को सूचना जारी गर्नुहुँदै जनयुद्ध दिवसको दिन वडा कार्यालयबाट प्रवाह हुने सेवा जारी रहने जानकारीसहित वडाभित्रका सरकारी तथा गैरसरकारी सङ्घसस्थालाई कार्यालय सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

सर्वोच्च अदालतको फैसला र मन्त्रीपरिषदको माघ–२५ गतेको बैठकको निर्णय तथा गृहमन्त्रालयको माघ–२९ को पत्र अनुसार जनयुद्ध दिवसमा सार्वजनिक बिदा नरहेको वडा कार्यालयको सूचनामा उल्लेख छ । जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने÷नदिने विषयमा दलीय आधारमा उक्त गाउँपालिका र वडा कार्यालयको मत बाझिएको धेरैको ठम्याइ छ ।

गाउँपालिका प्रमुख राई गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित हुनुहुन्छ भने, वडाध्यक्ष फुयाँल नेकपा (एमाले)बाट निर्वाचित हुनुहुन्छ । माओवादी केन्द्र सम्वद्ध नेता तथा कार्यकर्ताले जनयुद्ध दिवसमा विदा दिने गाउँपालिकाको निर्णयको तारिफ गरिरहेका छन् भने एमालेका नेता तथा कार्यकर्ताले वडा कार्यालय खुला गर्ने निर्णयको तारिफ गरिरहेका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहले भने जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छैनन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नेकपा एमाले र माओवादी केन्द्रले दुई÷दुई तथा नेपाली काँग्रेसले छ स्थानीय तहमा जित हात पारेको छ ।

माओवादी केन्द्रले प्रमुख जितेको जन्तेढुङ्गा गाउँपालिकामा पनि सार्वजनिक बिदा दिइएको छैन । काँग्रेससँगको गठबन्धनमा माओवादी केन्द्रले खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकामा जित हात पारेको हो ।

तपाईको प्रतिक्रिया