दिक्तेल रुपाकोट मझुवागढीमा पहिलो पटक सार्वजनिक सुनुवाइ : नगर प्रमुख र उपप्रमुखमाथि प्रश्नको ओइरो

Halesi Khabar
756 Shares

खोटाङ, २० माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शनिबार दिक्तेलस्थित हेलिप्याडमा पहिलो पटक सार्वजनिक सुनुवाइ गरेको छ । वि.सं. २०७९ को स्थानीय तहको निर्वाचनमार्फत चुनिएका वर्तमान नेतृत्वले हालसम्म सार्वजनिक सुनुवाइ गर्न सकेको थिएन ।

नगर प्रमुख तीर्थराज भट्टराईले नगरको प्रगति विवरण र प्रमुख प्रशासकीय अधिकृत दिनेश राईले आयव्याय प्रस्तुत गरेपछि सवाल जवाफको श्रृङ्खला शुरु भएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी अधिकांशले नगर प्रमुख भट्टराई र उपप्रमुख विशन राईको कार्यशैलिमाथि प्रश्न उठाएका छन् ।

यतिसम्म कि, जवाफदेही वक्ताका रुपमा रहनुभएका वडा नं.–८ दोर्पाचिउरीडाँडाका वडाध्यक्ष लीलाकुमार चौहानलेसमेत वडा कार्यालयको सिफारिसबिनै नगरबाट योजना छनोट, सञ्चालन र फरफारक गर्ने गराउने गरेको, उपप्रमुख राईले कृषकलाई घाँसको बेर्ना वितरण गरेको तर बेर्नावाला कृषकलाई घाँसको बेर्नाको पैसा नदिएको लगायतका १८ बुँदे प्रश्न गर्नुभयो । वडाध्यक्ष चौहानले मर्मत सम्भार कोषबाट नियम विपरित नगर प्रमुख भट्टराईको घर मर्मत गरिएको दाबी गर्नुभएको छ ।

तरुण दलका नेता सञ्जयकुमार राईले सर्वसाधारणको उपस्थिति नदेखिएको भन्दै आवाज उठाउनुभयो । “नेपाल प्रहरी, ससस्त्र प्रहरी, वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, कर्मचारी नहुने हो भने र अलि–अलि बिरोध गर्न पाइन्छ भनेर एमाले र राप्रपाका साथीहरु नआएको भए यहाँ मान्छे हुन्थ्यो ?”, उहाँले भन्नुभयो, “भोट नोट फटाएर, खर्च गरेर, निन्द्रा रात नभनेर तपाईहरुलाई जिताएका हौँ । यो राज्यले गरेको कार्यक्रम हो । तपाईहरुलाई जिस्कने छुट छैन ।”

एमालेका दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिका इन्चार्ज कमल ढकालले सार्वजनिक सुनुवाइमा ९० प्रतिशत जनता र १० प्रतिशत उत्तरदाता हुनुपर्नेमा उल्टो भएको भन्दै आलोचना गर्नुभयो। “नगरमा सुशासन छैन । घोषणा–पत्र कार्यान्वयन गरेको खोई ? आस्थाको आधारमा कर्मचारीमाथि किन विभेद भइरहेको छ ?”, उहाँले भन्नुभयो, “आस्थाकै आधारमा एमाले समर्थकविरुद्ध बेनामे मुद्धा हाल्न लगाउने र दुःख दिने काम किन भइरहेको छ । यसका विरुद्ध एमालेले कदम चाल्न नपरोस् ।”

यस्तै, शिक्षक धनीराम राईले नगरबाट बाँदरको समस्या हल गर्ने भरपर्दो उपायको खोजी नभएको गुनासो गर्नुभयो । “बाँदरको समस्या कसरी हल गर्ने भनेर अध्ययन नै भएन । मान्छे मर्नेबेला भइसक्यो । बाँदरभन्दा पहिला मान्छे मर्नु पर्ने हो ? संघीय सरकार समक्ष पहल गरौँ”, उहाँले भन्नुभयो, “नगरमा वास्तविक किसानले अनुदान नपाएको बरु नक्कली किसानले अनुदान लिइरहेको भन्ने गुनासो सुनिइरहेको छ ।”

नेपाल पत्रकार महासङ्घ शाखा खोटाङका अध्यक्ष दिलीप खत्रीले अघिल्लो कार्यकालमा नगरमा बनेका चिस्यान केन्द्र, आँखा पोखरी, पेन टावर, रेन्बो ट्राउट रेस–वे उपयोगमा ल्याउन नसकेको, अघिल्लो कार्यकालमा भएको भ्रष्टाचारको छानबिनका लागि उपप्रमुखको संयोजकत्वमा गठित समितिले हालसम्म प्रतिवेदन सार्वजनिक गर्न नसकेको भन्दै प्रश्न उठाउनुभयो । एमालेका नेता प्रेम खनालले रु ९०० को पालको बील रु तीन हजार बनाएर अनियमितता भएको सो बारेमा अख्तियारमा उजुरी परेको, कतिपय विषयमा दुःख दिने नियतले अख्तियारमा उजुरी हाल्ने गरिएको, बेनामे मुद्धा हालेर सास्ती दिने काम भइरहेको, विजयखर्कको लिफ्टिङ योजनाको ढिलासुस्तीका विषयमा अनुगमन नभएको आवाज उठाउनुभएको छ ।

नेता झमप्रसाद आचार्यले दिक्तेलको आचार्य गाउँमा बनेको बसपार्कमा गाडी पठाउने व्यवस्था मिलाउनुको सट्टा उपप्रमुखले उल्टै जग्गा दिने जग्गादातालाई दोष देखाएको भन्दै आक्रोश पोख्नुभयो । डोरनाथ आचार्यले वैदेशिक रोजगार र बसाइँसराइँका कारण गाउँलाई उजाड बन्नबाट जोगाउने नीति तथा कार्यक्रम बारे जिज्ञासा राख्नुभयो ।

मित्रनाथ खनालले दलित विद्यार्थीलाई उच्च शिक्षा दिलाउन अघिल्लो सरकारको पालामा दिक्तेल बहुमुखी क्याम्पसमा शुरु गरिएको कार्यक्रम कटौती भएको, दिक्तेल बजारमा विद्यार्थीलाई कोठा भाडा र केस काट्ने शुल्कमा छुटको व्यवस्था नगरिएको उल्लेख गर्नुभयो । जीवन ढकालले मध्यपहाडी लोकमार्गका पुल निर्माणमा भइरहेका ढिलासुस्ती बारे नगरको चासो नपुगेको भन्दै कक्षा–९ देखि १२ कक्षासम्म जापानिज र कोरियान भाषा पढाउन सुझाव दिनुभएको छ ।

उमेशचन्द्र आचार्यले नगरमा अपाङ्गतामैत्री कार्यक्रम नल्याइएको बताउनुभयो । टंकप्रसाद आचार्यले दिक्तेलको आचार्य गाउँमा बस लैजाने प्रयत्न सफल नभएको, व्यवहारिक शिक्षा लागू गर्न नसकेको भन्दै आलोचना गर्नुभयो ।

दुर्गाप्रसाद घिमिरेले दिक्तेलबजारमा रित्तो ट्याक्टर कुदाउन दिन नहुने सुझाव दिनुभयो । चालक गुरुप्रसाद ढकालले चालकको हकहितको क्षेत्रमा कुनै योजना तथा कार्यक्रम नल्याएको गुनासो गर्नुभएको छ । कतिपय गुनासो तथा प्रश्न सुझाव पेटिकामार्फत सङ्कलन गरिएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नगर प्रमुख भट्टराईको घर मर्मत र उपप्रमुख राईको आवास सुविधाका विषयमा पनि प्रश्न उठेका छन् । ्एमाले नगर समिति अध्यक्ष गोपालचन्द्र आचार्यले नगर प्रमुख भट्टराईको घर मर्मतमा नगरको बजेट खर्च गरिएको र उप प्रमुख राईका लागि नियम विपरित आवास सुविधाको व्यवस्था गरिएको दावी गर्नुभयो ।

अन्तिममा नगर प्रमुख भट्टराई र उपप्रमुख राईले सवालको जवाफ दिनुभएको थियो । किरात कोशी सञ्चार प्रा.लि.को संयोजनमा नगरपालिकाद्धारा आयोजित सार्वजनिक सुनुवाइमा नगर प्रमुख र उपप्रमुखको जवाफ चित्तबुझ्दो नभएको सहभागीले बताएका छन् ।

तपाईको प्रतिक्रिया