प्रचण्ड नेतृत्वको सरकारमा काँग्रेस बस्नुहुँदैन : डा. सुनिल शर्मा

Halesi Khabar
196 Shares

खोटाङ, १८ माघ । नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा काँग्रेस बस्न नहुने धारणा राख्नुभएको छ । नेपाल प्रेस युनियन खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै डा. शर्माले काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने वा प्रतिपक्षी दलका रुपमा बस्नुपर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा देशको समस्या हल गर्न नसकिने बताउनुहुँदै डा. शर्माले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ । “सरकारले नेपाली जनताको पक्षमा काम गर्न सकेको छैन । त्यस कारण प्रचण्डको नेतृत्वमा काँग्रेस बस्नु हुँदैन । सरक्क यो सरकार छाडेर कि त काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ कि त अपोजिसनमा बस्नुपर्छ”, उहाँले भन्नुभयो, “काँग्रेसले एमाले वा डेमोक्रेटिक पार्टीसँग सहकार्य गर्न सक्छ । अरुसँग मिलेर लिँदा भइहाल्यो नी ! माओवादीसँगै गठबन्धन हुनुपर्छ भन्ने के छ र ? उहाँहरुसँग चुनावसम्मका लागि मात्र गठबन्धन थियो, भयो । एकचोटी बिग्रियो, फेरि भयो । डेमोक्रेटिक सिस्टम हो । फेरि होला तर, अहिले माओवादीको नेतृत्वमा यो कन्ट्रीको प्रोब्लम हल गर्न सकिन्न ।”

डा. शर्माले प्रचण्डले जुनसुकैबेला काँग्रेसलाई धोका दिन सक्ने दाबीसमेत गर्नुभएको छ । “यो गठबन्धन काँग्रेसका निम्ति फलिफाप छैन । गिरीजाबाबु र प्रचण्डलाई भेट गराउने मै हुँ । प्रचण्डले गिरीजाबाबुलाई पनि झुक्याएकै हो । चिटिङ गरेकै हो”, उहाँले भन्नुभयो, “प्रचण्डले कहिले ओलीलाई चिटिङ गर्छन् । त्यो बेला गिरीजाबाबुलाई गरे । अहिले शेरबहादुर दाइलाई कुनबेला गर्छन् भन्ने टुङ्गो छैन ।”

डा. शर्मा कोशी प्रदेशका विभिन्न जिल्लामा पार्टी सङ्गठन, विकास निर्माणको अवस्था, समस्या, वर्तमान आवश्यकता लगायतका बारेमा अध्ययन गर्ने सिलसिलामा खोटाङ आउनुभएको काँग्रेस खोटाङका उपसभापति इवन राईले बताउनुभयो । दिक्तेलस्थित होटल थ्री ब्रदर्शमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस भोजपुरका सभापति एवम् प्रदेश सांसद विनोद बान्तवा राई, धनकुटा सभापति दिनेश राई, मोरङका प्रतिनिधिसभा सदस्य मानबहादुर लिम्बू लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया