मुख्यमन्त्रीको कार्यालयद्धारा विजयखर्कका ५० घर विपन्न परिवारलाई ब्ल्याङ्केट प्रदान

Halesi Khabar
196 Shares

खोटाङ, १२ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको कार्यालय विराटनगरले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका ५० घर विपन्न परिवारलाई ब्ल्याङ्केट उपलब्ध गराएको छ । विजयखर्कका समाजसेवी एवम् राजनीतिककर्मी धर्मराज पोखरेको समन्वयमा मुख्यमन्त्रीको कार्यालयले उपलब्ध गराएको ५० थान ब्ल्याङ्केट शुक्रबार विपन्न परिवारलाई प्रदान गरिएको छ ।

मुख्यमन्त्रीको कार्यालयबाट सञ्चालित ‘विपन्न लक्षित न्यानो कपडा वितरण’ कार्यक्रम अन्तरगत प्राप्त ब्ल्याङ्केट वडा कार्यालयको सिफारिसमा विपन्न परिवारलाई प्रदान गरिएको समन्वयकर्ता पोखरेलले जानकारी दिनुभयो । “विजयखर्कमा धेरैजना विपन्न परिवार बसोबास गर्छन् । उनीहरुलाई जाडो छल्न रातभर आगो ताप्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “मुख्यमन्त्री केदार कार्कीसँगको भेटमा यो समस्याको बारेमा जानकारी गराएको थिएँ । उहाँले पहिलो चरणमा ५० थान ब्ल्याङ्केट उपलब्ध गराउनुभएको थियो । हामीले ल्याएर वडा कार्यालयको सिफारिसको आधारमा वितरण गरेका हौँ ।”

जाडोको यो समयमा मुख्यमन्त्रीको कार्यालयले उपलब्ध गराएको ब्ल्याङ्केट पाएपछि विजयखर्कका अतिविपन्न परिवारका सदस्यहरु हर्षित भएका छन् । मुख्मन्त्रीको कार्यालयले उपलब्ध गराएको ब्ल्याङ्केट स्थानीय ‘नारायणप्रसाद पोखरेल स्मृति समाज’ विजयखर्कले औपचारिक कार्यक्रम गरेर विपन्न परिवारलाई वितरण गरेको हो ।

ब्ल्याङ्केट वितरण कार्यक्रममा विजयखर्कका समाजसेवी स्वर्गीय नारायणप्रसाद पोखरेलको तस्वीरमा माल्यार्ण गर्दै श्रद्धाञ्जलिसमेत प्रकट गरिएको थियो । नारायणप्रसाद पोखरेल स्मृति समाजका अध्यक्ष देवराज पोखरेल सभापतित्वमा आयोजित कार्यक्रममा वडाध्यक्ष रामबहादुर कटवाल, नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्री, समाजसेवी पोखरेल लगायतले विपन्न परिवारलाई ब्ल्याङ्केट हस्तान्तरण गर्नुभएको हो ।

ब्ल्याङ्केट हस्तान्तरण कार्यक्रमका वक्ताहरुले मुख्यमन्त्रीको कार्यालयबाट सञ्चालित ‘विपन्न लक्षित न्यानो कपडा वितरण’ कार्यक्रम प्रभावकारी भएको बताएका छन् । उनीहरुले प्रदेशभरिका विपन्न परिवारलाई जाडोको समयमा ओढ्नका लागि मुख्यमन्त्रीको कार्यालयले ब्ल्याङ्केट उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । तस्वीर उपलब्ध छ ।

 

तपाईको प्रतिक्रिया