अनेरास्ववियु खोटाङको २४ औँ जिल्ला अधिवेशन मङ्सिर–२९ र ३० गते ऐसेलुखर्कमा

Halesi Khabar
0 Shares

खोटाङ, १४ कातिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङले २४ औँ जिल्ला अधिवेशन आगामी मङ्सिर–२९ र ३० गते गर्ने भएको छ । पुष्पलाल स्मृति भवन दिक्तेलमा कातिक–१३ गते बसेको जिल्ला सम्मेलन आयोजक समिति खोटाङको पूर्ण बैठकले अधिवेशनको मिति टुङ्गो लगाएको हो ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा ऐसेलुखर्क बजारमा जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको अनेरास्ववियुले मङ्गलबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । अधिवेशनका लागि अनेरास्ववियुका जिल्ला संयोजक यम खड्काको संयोजकत्वमा अधिवेशन मुल आयोजक समिति, जिल्ला इन्चार्ज सङ्ग्रामको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, सहसंयोजक बिष्णु उपरकोटीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सुरेश प्रधानको संयोजकत्वमा स्वयम्सेवक परिचालन उपसमिति र अभिषेक घिमिरेको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति निर्माण गरिएको जनाइएको छ ।

‘विद्यार्थी हितमा केन्द्रीत सुदृढ सङ्गठन, नयाँ शिराबाट अबको शैक्षिक आन्दोलन’ भन्ने नारासहित हुने अधिवेशनमा जिल्लाभरिका १६८ प्रतिनिधिको सहभागिता रहने खोटाङ इन्चार्ज एवम् केन्द्रीय सदस्य मोहन सङ्ग्रामले जानकारी दिनुभयो । अधिवेशन अगाडि जिल्लाका प्लस टु पढाइ भइरहेका मावि एवम् दुई नगरपालिका र आठ गाउँपालिकामा सङ्गठन निर्माण गर्ने योजना रहेको अनेरास्ववियु खोटाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया