समाजवादी मोर्चा नेपाल खोटाङको संयोजकमा जसपाका पिके खम्बू

Halesi Khabar
0 Shares

खोटाङ, २६ असोज । समाजवादी मोर्चा नेपालले खोटाङमा जिल्ला संयोजन समिति घोषणा गरेको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हलमा आज (शुक्रबार) आयोजना गरिएको सन्देशसभा कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङले समाजवादी मोर्चा नेपालको जिल्ला संयोजन समिति घोषणा गर्नुभएको हो ।

पूर्व सूचना तथा सञ्चार एवम् शन्तिमन्त्रीसमेत रहनुभएका केन्द्रीय कार्यकारिणी सदस्य चेम्जोङले जनता समाजवादी खोटाङका अध्यक्ष पिके खम्बू संयोजक रहेको आठ सदस्यीय समाजवादी मोर्चा नेपालको संयोजन समिति घोषणा गर्नुभएको छ । समिति सदस्यमा नेकपा (माओवादी केन्द्र)बाट जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ र सचिव जीवन राई ‘सँगिन’, नेकपा (एकीकृत समाजवादी)बाट जिल्ला अध्यक्ष जलसेर राई र जिल्ला कार्यसमिति सदस्य दधीकुमार श्रेष्ठ, जनता समाजवादीबाट अध्यक्ष खम्बू र उपाध्यक्ष निर्मल राई, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट जिल्ला इन्चार्ज सञ्जिव मगर ‘सी’ र जिल्ला सेक्रेटरी सुदिप खत्री ‘सी’ चयन हुनुभएको छ ।

प्रत्येक छ महिनामा नेतृत्व परिवर्तन गर्नेगरी जिल्लामा समाजवादी मोर्चा नेपालको नेतृत्वमा संयोजन समिति गठन गरिएको जनाइएको छ । मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमहरुको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्यसञ्चालन गर्न जिल्ला सचिवालय समितिसमेत बनाइने जानकारी दिइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा समाजवादी मोर्चा नेपालमा आवद्ध चार राजनीतिक दल रहेका छन् । हरेक दलबाट दुई÷दुईजना प्रतिनिधि मोर्चामा आवद्ध हुने प्रदेश समितिको नीतिअनुसार जिल्ला संयोजन समिति घोषणा गरिएको जनाइएको छ ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङका अध्यक्ष राईले मोर्चाको अवधारणापत्रमार्फत मोर्चाको आवश्यकता, उद्देश्य, महत्व र नीतिगत प्रतिबद्धताका बारेमा प्रकाश पार्नुभएको छ । चार दलका नेताहरुले तयार पारेको समाजवादी मोर्चाको उद्देश्य तथा नीतिगत प्रतिबद्धतापत्रमा मोर्चामा आवद्ध चारै दलका अध्यक्ष तथा संयोजकहरुले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका जसपाका केन्द्रीय कार्यकारिणी सदस्य एवम् मन्त्री चेम्जुङले समाजवादी मोर्चा नेपालको प्रमुख कार्यभार प्राप्त उपलब्धीहरुलाई संरक्षण, प्रवद्र्धन र कार्यान्वयन गर्दै नेपालमा समाजवाद स्थापना गर्नु रहेको बताउनुभएको छ । “नेपाली राजनीतिमा बाहिरी हस्तक्षेप बढ्दै गएको छ । प्राप्त उपलब्धीहरु खतरामा छन् । गणतन्त्र, सङ्घीयता, समावेशीकरण, धर्मनिरपेक्षता जस्ता प्राप्त उपलब्धीहरु कार्यान्वयन हुन नदिने षडेन्त्रहरु शुरु भएको छ”, उहाँले भन्नुभयो, “स्वदेशी तथा विदेशी हस्तक्षेपकारीहरुलाई परास्त गर्दै देशमा सुशासन कायम गर्न सबै एकतावद्ध हुनुपर्ने अवस्था आएको छ । अहिलेबाटै हामी एकतावद्ध नभएको खण्डमा प्राप्त उपलब्धीहरु खतरामा पर्ने निश्चित छ । षडेन्त्रकारीहरु सलबलाउन थालेका छन् ।”

कार्यक्रममा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य चेम्जोङ, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोग अध्यक्ष एवम् पूर्वसांसद टंक राई, नेकपा (एकीकृत समाजवादी) पार्टीका पोलिटब्यूरो सदस्य एवम् पूर्वमन्त्री राजन राई र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लप समूहका केन्द्रीय सदस्य चन्द्र बुढाथोकी ‘शैलेस सी’ले सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा नेताहरुले तत्कालीन नेकपा माओवादीको दशवर्षे जनयुद्ध, २०६२÷०६३ को जनआन्दोलन, मधेश आन्दोलन लगायतबाट प्राप्त उपब्धीहरुको संरक्षण, प्रवद्र्धन र कार्यान्वयन गर्नका लागि विचार मिल्ने राजनीतिक दलहरु मिलेर समाजवादी मोर्चा गठन गरिएको प्रस्ट्याएका छन् ।

तपाईको प्रतिक्रिया