स्थानीय तहका जनप्रतिनिधिलाई लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी जानकारी

Halesi Khabar
0 Shares

खोटाङ, २५ असोज । स्थानीय तहका जनप्रतिनिधिलाई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मूल प्रवाहीकरण सम्बन्धी जानकारी दिइएको छ । दलित महिला केन्द्र नेपालले बिहीबार दिक्तेलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर स्थानीय तहका विषयगत समितिका संयोजक, पालिका उपप्रमुख, विषयगत समितिका सदस्य सचिव, विषयगत समितिमा रहेका निर्वाचित जनप्रतिनिधि र कार्यपालिका सदस्यहरुलाई सहभागी गराएर यस्तो जानकारी दिएको हो ।

‘शी लिड्स–महिला नेतृत्व’ कार्यक्रम सञ्चालन भएका आठ स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका र जन्तेढुङ्गा गाउँपालिका बाहेक अन्य स्थानीय तहका ३१ जना प्रतिनिधिलाई सहभागी गराएर कार्यक्रम गरिएको आयोजकले जनाएको छ । स्थानीय तहमा लैङ्कि समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी नीति बनाउने, बजेट विनियोजन गर्ने र लागू गर्ने वातावरण निर्माणका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सहभागी गराएर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको परियोजनाका जिल्ला कार्यक्रम संयोजक इन्दुकला राईले जानकारी दिनुभयो ।

राज्यको मूल नीतिमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी नीति, योजना र बजेट बनाउनुपर्छ भन्ने भए पनि कार्यान्वयन नभएकाले आगामी दिनमा लागू गराउने उद्देश्यले कार्यक्रम राखिएको आयोजकले जनाएको छ । विशेषगरी निर्वाचित दलित तथा सिमान्तकृत महिलाको अधिकार संरक्षण, प्रवद्र्धन, आर्थिक सवलीकरण तथा आत्मसम्मानको क्षेत्रमा काम गर्दै आएको परियोजनाले सामाजिक विकास, आर्थिक विकास र वातावरण तथा बिपद् व्यवस्थापन समितिलाई सहभागी गराएर अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

“अन्तर्राष्ट्रिय फोरमहरुमा पनि हामी चैँ लैङ्गिक समानताको पक्षपाती हौँ भन्छौँ । सामाजिक समावेशीकरणको लागि हामी नीतिसमेत बनाउँछौँ । कार्यान्वयन गर्छौँ र उत्पीडनमा परेका, उपेक्षामा परेका सबै जाति, वर्ग, लिङ्ग तथा क्षेत्रका मानिसलाई राज्यको मूल प्रवाहमा ल्याउँछौँ भन्दै भाषण गर्छौँ तर, प्राक्टिसमा चाँहि अलि कम छ”, कार्यक्रमका सहजकर्ता संविधानसभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राईले भन्नुभयो, “स्थानीय सरकारले पनि योजना बनाउछ । तर, त्यस्ता कुरामा ध्यान दिएको पाइँदैन । त्यसैले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति बनाउने, लागू गर्ने, बजेट बनाउने लगायतका कुराहरुमा पोजेटिभ बनाउन स्थानीय तहका जनप्रतिनिधिलाई सहभागी गराएर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । आगामी दिनमा केही उपलब्धी हुन्छ भन्ने हाम्रो ठम्याइ छ ।”

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका उपाप्रमुख अरुणा थापामगर, साकेला गाउँपालिकाका उपप्रमुख बिर्सिका राई, वडाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । जिल्लाको साकेला गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मकुवागढी नगरपालिका रावाबेँेसी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका तथा पछि थप गरिएका ऐसेलुखर्क गाउँपालिका, खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकामा ‘शी लिड्स–महिला नेतृत्व’ परियोजना सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया