संविधान दिवस २०८० : खोटाङमा भाषणको सट्टा संविधान वाचन

Halesi Khabar

खोटाङ, ३ असोज । संविधान दिवसको अवसरमा खोटाङमा संविधान वाचन गरिएको छ । संविधान दिवस २०८० को अवसरमा संविधान दिवस जिल्ला समारोह समिति खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको कार्यक्रममा सहभागी अतिथिहरुले संविधानको विभिन्न भाग वाचन गरेर सुनाएका छन् ।

दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिदेखि अन्य अतिथिलाई मन्तव्यका क्रममा भाषणको सट्टा संविधान पल्टाएर वाचन गरेर सुनाउन लगाइएको आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् पूर्वसांसद कुलप्रसाद फुयाँलले संविधानको प्रस्तावना वाचन गरेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

उद्घोषकले संविधानको भाग तोकेर वाचन गर्नका लागि कार्यक्रममा सहभागी अतिथिलाई मञ्चमा बोलाएका थिए । कार्यक्रममा सहभागी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले संविधानको भाग १७ मा व्यवस्था गरिएको स्थानीय कार्यपालिका, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले संविधानको भाग १७ मा व्यवस्था गरिएको नागरिकता, नेपाली काँग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले संविधानको भाग २९ को राजनीतिक दल सम्बन्धी व्यवस्था, नेकपा एमाले खोटाङका कानून विभाग प्रमुख ओमप्रकाश घिमिरेले प्रदेश कार्यपालिका र प्रदेश व्यवस्थापिका खण्ड वाचन गरेर सुनाउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम खड्का र सशस्त्र प्रहरी बल हलेसी गुल्म खोटाङका गुल्मपति (डिएसपी) कृष्णबहादुर बमले मौलिक हक र कर्तव्य, स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देलले विविध र जिल्ला समन्वय समितिका सदस्य ज्ञानेन्द्र राईले सङ्घ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध खण्डलाई वाचन गरेर सुनाउनुभएको थियो ।

धार्मिक ग्रन्थहरु वाचन गरेर सुनाएजस्तै देश चलाउने महत्वपूर्ण दस्तावेजलाई पढेर बुझ्न र अरुलाई बुझाउने सन्देश प्रवाह गर्नका लागि संविधान वाचन कार्यक्रम राखिएको संविधान दिवस जिल्ला समारोह समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस र नेकपा एमाले बाहेक अन्य दलका प्रतिनिधि अनुपस्थित भएका थिए ।

संविधान दिवसको अवसरमा बुधबार साँझ जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरुमा दीप प्रज्वलन गरिएको छ । दिवसको अवससरमा बिहान जिल्ला अस्पताल खोटाङ परिसर सरसफाइ गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया