खोटाङ, १२ फागुन । कुकुरको टोकाइबाट गम्भीर भाइते भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाकी ६७ वर्षीया वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ । गत माघ–५ गते कुकुरको टोकाइबाट गम्भीर घाइते बनेकी वृद्धाको फागुन–६ गते काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको र उनको मृत्यु रेबिजका कारण भएको अस्पतालले पुष्टि गरेपछि गाउँमा त्रास फैलिएको हो ।
वृद्धालाई हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीबाट डुल्दै आएको कुकुरले गत माघ–५ गते दाहिने हातमा टोकेको थियो । कुकुरले टोकेको ७÷८ घण्टापछि जिल्ला अस्पताल दिक्तेलमा पु¥याएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामीलाई बचाउन नसकिएको आफन्त सोनाम राईले बताउनुभएको छ ।
एन्टी रेबिज भ्याक्सिनको तीनवटै मात्रा पुरा गरेपनि टोकेको २०÷२२ दिनपछि घाउमा अधिक दुखाइ शुरु भएको थियो । कुकुरले टोकेको २८÷२९ दिनतिर घाउ भएका दाहिने हात चल्नै छाडेपछि बिरामीलाई काठमाडौँस्थित शिक्षण अस्पताल पु¥याइएको थियो ।
शिक्षण अस्पतालले टेकुमा रेफर गरेलगत्तै बिरामीको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मृतकको शव गाउँमा ल्याएर दाहसँस्कार गरिसकिएकाले झनै त्रास फैलिएको स्थानीय बासिन्दाले बताएका छन् ।
कुकुरले टोक्ने बित्तिकै दिइनुपर्ने खोप नपाउँदा बिरामीको मृत्यु भएको अस्पतालले जवाफ दिएको राई बताउनुभयो । जिल्ला अस्पताल खोटाङका प्रमुख डा. बैभव मल्लिकले भने बिरामीलाई ढिलागरी अस्पताल पु¥याएकाले एन्टी रेबिज भ्याक्सिनले काम नगरेको हुनसक्ने बताउनुभएको छ ।
मृतक वृद्धाको रेबिजका कारण मृत्यु भएको प्रतिवेदन आएपछि उनका सम्पर्कमा रहेका २५ जनालाई एन्टी रेबिज भ्याक्सिनको पहिलो मात्रा दिइएको छ । हाललाई परिवार र नजिकका छरछिमेकलाई एन्टी रेबिज भ्याक्सिन दिइएको बुइपाका वडाध्यक्ष दिनेश राईले जानकारी दिनुभयो ।
बुइपा र राजापानीमा अझै पनि मृतकको सम्पर्कमा रहेका आफन्तहरु खोपबाट छुटेको हुनसक्ने स्थानीय बासिन्दाले बताएका छन् । रेबिजको आतङ्क फैलिएको ठाउँमा तत्काल खोप व्यवस्थापनमा स्थानीय सरकार र जिल्ला अस्पतालले बेवास्ता गरेको स्थानीय बासिन्दाको आरोप छ ।
उता, जन्तेढुङ्गा गाउँपालिकामा भुस्याहा कुकुरको बिगबिगी फैलिएको छ । बाँदर, स्याल धपाउनका लागि पालिएका कुकुर बजार तथा अन्यत्र छाडिँदा भुस्याहा कुकुरको बिगबिगी फैलिएको हो ।
केही समयअघि बेवारिसे कुकुरले वडा नं.–५ चिसापानीका १५ जनालाई टोकेका थिए । भुस्याहा कुकुरले दर्जनौँ पशुचौपायालाई समेत टोकेको जनाइएको छ ।
कुकुरको टोकाइबाट तुलसीराम कोइरालाको एउटा गाई मरेको थियो । स्थानीय सरकार, प्रदेश सरकार र पशु सेवा केन्द्रले घरमा पालिएका र भुस्याहा कुकुरलाई निःशुल्क भ्याक्सिन उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने स्थानीयले बताएका छन् ।
यता, दिक्तेल बजारमा समेत भुस्याहा कुकुरको बिगबिगी बढेको छ । गत कातिक–६ गते पहिचान नभएका कुकुरको टोकाइबाट दिक्तेल बजारमा एकै दिन १५ जना घाइते भएका थिए ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा यसअघिदेखि नै भुस्याहा कुकुरको बिगबिगी रहेको थियो । दिक्तेल बजारमा करीब दुई वर्षअघि भुस्याहा कुकुरले जथाभावी मान्छेलाई टोक्न थालेपछि नगरपालिकाले नियन्त्रण गर्न थालेपनि चौतर्फी विरोध भएकाले स्थगित गरिएको थियो ।
भुस्याहा कुकुरको बिगबिगीका कारण अहिले दिक्तेल बजारमा रातको समयमा हिँडडुल गर्नसमेत समस्या रहेको स्थानीय बासिन्दाले बताएका छन् । दिक्तेल बजारको विभिन्न चोकमा हुल बाँधेर हिँड्ने भुस्याहा कुकुरको समूहले रातको समयमा यात्रा गर्ने मान्छेलाई बाटो छेकेर आक्रमण गर्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।


